महासंघ वरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठले सार्वजनिक गरे घोषणा पत्र, के-के छन् प्रतिवद्धता ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठले आफ्नो बाचापत्र सार्वजनिक गरेको छन् । उनको बाचापत्र जीवन्त, जिम्मेवारी र जोशिलो निजि क्षेत्र मुख्य नारा बनाएका हुन् ।
उनले उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिइदिने विद्यमान समस्यालाई चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका सहयात्री हुन् भनेर स्थापित गराउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । नेपालको अर्थतन्त्रमा हाल देखिएका समस्याको समाधान गर्नका लागि, नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक स्पान्तरणको रणनीतिक कार्यान्वयन गर्दै उत्पादनमुखी अर्थतन्त्रको निर्माणका लागि निजी क्षेत्रको भूमिका बढाउनु आजको अपरिहार्यता रहेको उनको तर्क रहेको थियो ।नेपालमा निजी क्षेत्रको भूमिका र क्रियाशीलता बढाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको विस्तारका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले देशभरिका व्यावसायीहरूको हक र हितको संरक्षण गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनवरत रूपमा अगाडी बढेको बताए । विश्व परिवेशमा भइरहेका परिवर्तनलाई मान्यता दिँदै खुला बजार अर्थतन्त्रको विकासमा प्रभावकारी र महत्वपूर्ण योगदान पुयाउने महासंघको लक्ष्य रहेको हुँदा, यी लक्ष्य हासिल गर्नका लागि महासंघको आगामी नेतृत्वका लागि मैले दाबी गरेको श्रेष्ठले भनाइ थियो ।
व्यवसायीहरूको आत्मनिर्भरता र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको राष्ट्रिय लक्ष्यलाई समर्थन गर्दै देशको व्यापार रउद्योगको सर्वोच्च प्रतिनिधि निकायको रूपमा काम गर्ने र सरोकारवाला स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँगको सहकार्यलाई मित्रवत् र रणनीतिक ढङ्गबाट अगाडी बढाउने योजना रहेको बताए ।
यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।
यस्तो छ घोषित पत्र
१) उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिइदिने विद्यमान समस्यालाई चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका सहयात्री हुन् भनेर स्थापित गराउनु मेरो मुख्य उद्देश्य हुनेछ ।
२) नेपाल उद्योग वाणिज्य महासंघका अघिल्ला नेतृत्वले सुरू गरेका सुधारका कार्यहरूलाई निरन्तरता दिने छु । महासंघको कार्यालयमा हुने कार्यसम्पादनलाई सुदृढ गर्ने प्रण गर्दछु ।
३) निजी क्षेत्र र सरकार नदीका दुई किनारा होइनन् । हाम्रा लक्ष्य अलग छैनन्, सरकार र निजी क्षेत्र मिलेर काम गर्दा दुवै पक्ष लाभान्वित हुनेमात्र होइन, मुलुककै सर्वागिण विकासका लागि आधार बन्नेछ व्यवसायीह पिडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न म अहोरात्र खटिनेछु ।
४) लगानीमैत्री वातावरण निर्माण र उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि महासंघले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारसँगको साझेदारीमा सुविधासहितका आकर्षक कार्यक्रमहरू ल्याउने योजनाका लागि पहल गर्नेछु। युवा उद्यमी, स्टार्टअप तथा उद्योगी व्यवसायीहरूलाई सहजीकरण गर्नका लागि थालिएका सम्पूर्ण कार्यहरूलाई निरन्तरता दिँदै नीतिगत सुधारमा सरकारलाई निरन्तर झक झाक्यउने कार्यमा विशेष जोड दिने छु ।
५) नेपालमा छरिएर रहेका र असान्दर्मिक नियम कानुनहरूमा एकरूपता ल्याउन सरकार संग को सहकार्यमाप्रयास गर्ने छु। राष्ट्र बैक, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय वा कुनै पनि नियमनकारी संघसंस्थाले कुनै नीति वा नियम बनाउँदा सरोकारवाला उद्योगी व्यवसायीसँग पर्याप्त परामर्श गरिंदैन । पर्याप्त परामर्श बिना कानुन बनाउँदा र पुराना कानुनहरू अद्यावधिक नगर्दा हामीले धेरै समस्या भोग्नु परेको छ । त्यसैले पर्याप्त परामर्शसहितका तथ्यमा आधारित नीति नियम बनाउनका लागि मेरो निरन्तर प्रयत्न, पहल र पैरवी हुनेछ ।
६) नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरुको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिने छु महासंघका प्रादेशिक कार्यालयहरूको क्षमता विस्तार गर्ने छु ।
७) सरकारको ध्यान आन्तरिक उत्पादन बढाउने भन्दा पनि राजस्व बढाउनेतर्फ मात्रै केन्द्रित छ भन्ने प्रतित हुन्छ यसको प्रत्यक्ष प्रभाव उद्योग तथा व्यवसायहरूमा परिरहेको छ सरकार राजस्वतर्फ केन्द्रित हुँदा आयातमा उच्च वृद्धि हुनु र निर्यातमा गिरावट आउनु स्वाभाविक हो आन्तरिक उत्पादन बढाउन महासंघले नयाँ र पृथक रणनीतिक योजना बनाउने र सरकारसँग सहकार्य गर्ने संकल्प गर्दछु ।
८) उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजमा ऋण उपलब्ध गराउन तथा विगत देखि नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि महासंघले हरसम्भव प्रयास गर्ने वाचा गर्दछु अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन्। सिमेन्ट उद्योगी, छड उद्योगी, निर्माणजन्य उद्योग, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटीएको अवस्था छ होटेल रेस्टुरेन्ट, जुत्ता, चप्पलदेखि हरेक प्रकारका उद्योगी व्यवसायी मर्कामा छन्। बजारमा मागमा कमी आएको छ, उत्पादन तथा बजार माग बढाउन नीतिगत तवरबाट गाँठो फकाउनु मेरो प्रमुख दायित्व हुनेछ यो दायित्व पूरा गर्नका लागि हरसम्भव प्रयास गर्नेछु नेपालमा लगानीको कमीलाई सम्बोधन गर्दै, निजी क्षेत्रलाई लगानीको श्रोत जुटाउन कन्ट्री रेटिंग, हेजिंग, स्वदेशी उद्योगी व्यवसायीहरूले सहज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्ने सक्ने व्यवस्था आदि जस्ता आवश्यक नीतिगत व्यवस्थाको कार्यान्वयन गर्न विशेष पहल गर्ने छु ।
९) कर प्रणालीमा आवश्यक सुधार लागतमा नियन्त्रण, लगानीमैत्री वातावरण र उदार अर्थनीतिजस्ता नीति नियमहरूमा महासंघको विशेष ध्यान हुनेछ यसका लागि महासंघ तदारुकताका साथ अगाडी बढ्ने वाचा गर्दछु ।
१०) हाल नेपालले भोगेको आर्थिक संकटको एउटा मुख्य कारण नेपालको अर्थतन्त्र आयातमुखी हुनु हो । यसमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता कम हुनुलाई मुख्य कारण मान्ने गरिएको छ । म वाचा गर्छु, मेरो कार्यकालमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्ने यथासक्य प्रयत्न गर्ने छु । यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रविधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्नेछु । यसका साथै मानव संसाधनको क्षमता विकास गर्दै सामान्य रोजगारीको खोजीमा पनि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न प्रयत्न गर्नेछु ।













