ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरि काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन
ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरि काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरि व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँगको अन्तरक्रिया अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
उनले कम्पनीहरुलाई बीमालेख नवीकरणमा विशेष ध्यान दिन निर्देशन दिए । अध्यक्ष सिलवालले भने,–‘मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुप¥यो ।’
योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्ने भएकाले त्यसतर्फ ध्यान सिलवालले आग्रह गरे । उनले भने,–‘बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटर ब्याजीकोमा जानु पर्दैन । तसर्थ, बीमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।’
अध्यक्ष सिलवालले भने–‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिनु भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुप¥यो । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्नुप¥यो ।’
अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि विकल्प सहित आउन आग्रह गर्नुहुँदै सोही अनुरुप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।
यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), बीरगञ्जका पदाधिकारीहरुसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यवसायिक दक्षताका साथ काम गर्न सुझाव दिएका थिए ।













