सेयर बजारका लागि यो साता किन छ बढी महत्वपूर्ण ? यसरी उल्टियो गत सातामा सेयरको बाटो
काठमाडौं ।गत सालको जेठ पहिलो सातादेखि नै नेप्से परिसूचक २२ अंक नजकि झरिसकेको थियो । त्यसयता नेप्सेले १८ सयदेखि २२ सय अंकबीचमा करीब ४ सय अंकको फराकिलो करिडोरलाई पछ्याएर ‘साइडवेज मुभमेण्ट’मा चलिरहेको छ । अहिले पनि नेप्सेका लागि २२ सय अंकको स्तर पार गर्न निकै ठूलो ग्याप बाँकी छ । गत विहीबार नेप्से १९ सय ३४ अंकमा रोकिएको छ । सेयर बजारले २२ सय ४० अंक पार गरेको अवस्थमा मात्रै नयाँ बुलिश प्रबृत्तीमा प्रवेश गर्ने छ ।
तर गत साता नेप्सेमा ठूलो ‘बाउन्स ब्याक’ देखिएको छ । पछिल्ला २० महिनादेखि घट्दो क्रममा रहेको सेयर बजार यो साताबाट बाटो मोड्ने तयारीमा देखिन्छ । ३२ सय अंकको कीर्तिमानी उचाइ पार गरेयता करीब ४४ प्रतिशतसम्म घटेपछि अब भने बजारले ओरालो यात्रामा ब्रेक लगाएको देखिएको हो । अहिलेको अवस्थामा सेयर बजार अव पुनः फर्केर १८ सय वा त्योभन्दा तल झर्ने सम्भावना लगभग शुन्यप्रायः देखिएको छ । यसले गत सातालाई सेयर बजारमा भावि उकालो यात्राको पहिलो पाइला चालेको रुपमा हेर्न सकिन्छ ।
पछिल्ला तीन दिनमा नेप्से १ सय २५ अंक बढ्यो, र त्यसैबीच लगानीकर्ताको सम्पत्ती १ खर्ब ९३ अर्ब बृद्धि भयो । साताको अन्तिम दिन २९ अंक घटे पनि साप्ताहिक रुपमा नेप्सेमा झण्डै ६८ अंकको बृद्धिमै देखिएको छ । त्यस्तै अघिल्लो साताको तुलनामा सेयर बजारको कुल पुँजीकरण पनि १ खर्ब ९ अर्बभन्दा धेरै बढेको छ । अघिल्लो सातासम्म २७ खर्ब ४ अर्ब रहेको नेप्सेको बजार पुँजीकरण गत विहीबार २८ खर्ब १३ अर्ब नाघेको छ ।
गत हप्ता बजारको उतारचढाव पनि उच्च रह्यो । साताभरमा १ सय ४९ अंकको फराकिलो उतारचढाव सेयर बजारमा देखियो । दैनिक ब्यापारमा पनि उल्लेख्य सुधार हुन पुगेको छ । अघिल्लो हप्ता नेप्सेको दैनिक औसत कारोबार रकम ९३ करोडमा झरिसकेको थियो । तर पछिल्लो साता भने दैनिक औसत १ अर्ब ३० करोडभन्दा धेरैको कारोबार भएको छ । साताका अन्तिम दुई दिन त कारोबार रकम ह्वात्तै बढेर दैनिक २ अर्बको नजिक पुगेको थियो । यसले बजारमा सेयरको खरीद चाप बढ्न थालेको संकेत गर्छ ।
गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेसँगै नेप्सेमा उछाल आएको थियो । त्यसदिन नेप्से ९२ अंकभन्दा धेरै बढेको थियो । राष्ट्र बैंकले पनि गत मंगलबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको आर्थिक परिदृष्यसम्बन्धि प्रतिवेदनले मुलुकको भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रसँग सम्बन्धित थुप्रै सूचकहरुमा उल्लेख्य सुधार भएको उल्लेख छ । बाह्य अर्थतन्त्रको सम्भावित जोखिमलाई थेग्न सक्ने हालत तयार भइसकेकाले अब आन्तरिक अथर्ततन्त्र चलायमान बनाउन अर्थ मन्त्रालयले केन्द्रिय बैंकमाथि दबाब बढाइरहेको छ ।
राष्ट्र बैंक स्वयम् पनि अब आन्तरिक अर्थतन्त्रलाई लयमा फर्काउन सहमत भएको संकेत गरेको छ । नियामक र सरकारमात्रै होइन, बैंकरहरु पनि अब परिस्थिति सहज बनाउन तयार देखिएका छन् । वैशाखबाट निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएपछि ऋणको ब्याजदर पनि सस्तो हुँदै जाने आशा धेरैले लिएका छन् । बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिँदै गएको र कर्जाको माग रोकिएका कारण पनि बैंकहरु अब ब्याजदर घटाउन तयार देखिएका हुन् ।
अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतको नजिक झरिसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो दरलाई ९० प्रतिशतसम्म पुर्याउन सकिने कानुनी व्यवस्था छ । ५४ खर्ब ५० अर्ब निक्षेपको ५ प्रतिशत अर्थात् झण्डै पौने ३ खर्ब रकम बैंकहरुमा अधिक तरलताको रुपमा देखिन थालेको छ । यसरी बैकमा लगानीयोग्य पैसा थुप्रिनु स्वयम् बैंकका लागि पनि लाभकारक हुँदैन । यसले बैंकहरुको इफिसियन्सी र आम्दानी घटाउँछ । यही कारण अब बैंकहरु पनि कर्जाको ब्याजदर घटाएर ऋण प्रवाहमा लाग्ने कोसिस गरिरहेका छन् ।
अहिले देखिएको आर्थिक सुस्तताबाट अर्थतन्त्रलाई चलायमान बनाउन पनि राज्यले संकटको समयमा सेयर बजारलाई उचाल्ने गरी नीति बनाउने पुरानै अभ्यास पनि हो । यसअघि कोभीडबाट थलिएको अर्थतन्त्रलाई लयमा फर्काउन पनि सेयर बजारको खुबै प्रयोग गरिएको थियो । व्यवसायीहरु पनि अन्यत्र लगानीको संभावना खोज्नुभन्दा पहिले सेयर बजारबाटै आफ्नो सम्पत्ती बढाउन चाहन्छन् । यी सबै परिदृष्यले अब सेयर बजारले नयाँ उचाइको गन्तव्य पछ्याउने संभावना बलियो बनेको छ ।
तथापि, यो साता नेप्सेले २२ सय ४० अंकको विन्दु पार गर्ने कोसिस गर्छ की यसैगरी २ हजारको मनोवैज्ञानिक स्तरभन्दा तलै रुमल्लिन्छ भन्ने कुराले आउँदो दिनमा बजारको गतिलाई निर्धारण गर्छ । अहिले पनि बजारमा पर्याप्त पैसा त देखिन्न, तर प्राविधिक रुपमा अब विस्तारै नेप्सेले उकालो यात्राको बाटो पछ्याउने बेला आएको संकेत गरेका छन् । तसर्थ नेप्सेको बृद्धिलाई यो हप्ताको कारोबारले ठूलो अर्थ राख्ने छ ।













