राष्ट्रिय स्तरका विकास बैंकः शाइन रेसुङ्गा बाहेकका बैंकको नाफामा गिरावट, कसले कति कमाए ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बाहेकका सबै राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा गिरावट आएको छ । विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
संचालनमा रहेका आठ वटा राष्ट्रिय स्तरका विकास बैंकहले ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेका छन् । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने २६.७९ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा बैंकहरुले ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका थिए ।
विवरण अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बाहेकका अन्य बैंकहरुका नाफा घटेको छ । शाइनले १४.३८ प्रतिशतले नाफा वृद्धि गरि ५५ करोड ४५ करोड रुपैयाँ पुर्याएको छ । गत आवको समिक्षा अवधिमा बैंकले ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।
मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको पनि गत आवको समिक्षा अवधिको तुलनामा भने २१ प्रतिशतले कमी छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर,गत आवको सोही अवधिमा भने १ अर्ब २ करोड बढी नाफा आर्जन गरेको थियो ।
यस्तै, गरिमा विकास बैंकले ६५ करोड १८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने १६.९२ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ७८ करोड ४६ लाख बढी नाफा कमाएको थियो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंक ४६ करोड ८१ लाख, महालक्ष्मी विकास बैंकले ३७ करोड ८९ लाख र कामना सेवा विकास बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकहरुको नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने क्रमशः ८.३२ प्रतिशत, ४६.९४ प्रतिशत र ३९.४१ प्रतिशतले घटेको हो ।
यस्तै, ज्योति बैंकको नाफामा ६० प्रतिशतको गिवरावट आएको छ । जुन, अन्य विकास बैंकको भन्दा धेरै हो । गत आवको तेस्रो त्रैमासमा ५१ करोड ५७ लाख बढी नाफा गरेको बैंकले यस वर्षको सोही अवधिमा भने २० करोड १६ लाख रुपैयाँ मात्रै कमाएको छ ।
त्यसैगरि सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा पनि ३८.५६ प्रतिशतले घटेर २४ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । बैंकले गत आवको समिक्षा अवधिमा भने ४० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
