डेढ अर्बले घट्यो सेयर कारोबार मार्फत हुने बैंकहरुको आम्दानी, चार बैंकको मात्रै बढ्यो ‘नेट ट्रेडिङ्ग इनकम’ « Arthapath.com
१७ असार २०८२, मंगलबार

डेढ अर्बले घट्यो सेयर कारोबार मार्फत हुने बैंकहरुको आम्दानी, चार बैंकको मात्रै बढ्यो ‘नेट ट्रेडिङ्ग इनकम’



काठमाडौ । वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी (नेट ट्रेडिङ्ग इनकम) प्रभावित भएको छ । सेयर बजारमा आएको उत्तार चढावले वाणिज्य बैंकहरुको नेट ट्रेडिङ्ग इनमकम पनि प्रभावित भएको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय रिर्पोट अनुसार सेयर कारोबारबाट हुने आम्दानीमा झण्डै डेढ अर्बले गिरावट आएको छ ।

चालु आवको ९ महिनामा बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ४ अर्ब ८ करोड ५२ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २५.७४ प्रतिशले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकहरुको नेट ट्रेडिङ्ग इनकम ५ अर्ब ५० करोड १६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बजार अस्थिर बन्दा बैंकहरुको यस्तो आम्दानीमा कमी आएको विज्ञहरु बताउँछन् । घट्दो सेयर बजार तथा नेपाल राष्ट्र बैंकले लिएको केही कसिलो नीतिका कारण पनि यस्तो आम्दानीमा संकुचन आएको हो । नियमनकारी निकायम नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

माछापुच्छ्रेसहित चार बैंकको मात्रै बढ्यो ‘नेट ट्रेडिङ्ग इनकम’

समिक्षा अवधिमा चार बैंकहरुको मात्रै ‘नेट ट्रेडिङ्ग इनकम’ वृद्धि भएको छ । बैंकहरुको वित्तीय रिपोर्टअनुसार सबैभन्दा धेरै आम्दानी माछापुच्छ्रे बैंकको वृद्धि भएको छ ।

बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा सेयर कारोबार मार्फत २७ करोड ३८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने ५०.८१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ १८ करोड १५ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ९ महिनामा नेपाल एसबिआई बैंकले सेयर कारोबार मार्फत २३ करोड ६६ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २९.१० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले १८ करोड ३२ लाख बढी आम्दानी गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा प्रभु बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ ५.४६ प्रतिशतले वृद्धि भई १८ करोड १७ लाख ६८ हजार रुपैयाँ कायम भएको छ। बैंकले गत आवको तेस्रो त्रैमासमा सेयर कारोबार मार्फत १७ करोड २३ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यता, लक्ष्मी बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ मा २.८४ प्रतिशतको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकले सेयर कारोबार मार्फत १३ करोड ६८ लाख ८० हजार आम्दानी गरेको छ ।

कृषि विकास बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ ऋणात्मक

कृषि विकास बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ अझै ऋणात्मक देखिएको छ । चालु आवको ९ महिनामा बैंकको यस्तो आम्दानी २ करोड २४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक छ । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने ऋणात्मक घटाएको छ । बैंकले ७०.७५ प्रतिशतले घटाएको हो । गत आवको तेस्रो त्रैमासमा बैंकले सेयर कारोबार मार्फत ७ करोड ६७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

स्टाण्र्ड चार्टर्डपछि ग्लोबल आइएमई र एनआईएमिब धेरै आम्दानी

चालु आवको ९ महिनामा सेयर कारोबार मार्फत स्टाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै आम्दानी गरेको छ । सो अवधिमा बैंकले सेयर कारोबार मार्फत ४४ करोड ७२ लाख १९ हजार रुपैइाँ आम्दानी गरेको छ । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने १०.६२ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ५० करोड बढी आम्दानी गरेको थियो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३६ करोड ६० लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत आवको समिक्षा अवधिमा भने बैंकले सेयर कारोबार मार्फत ४६ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

तेस्रो स्थानमा भने नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले चालु आवको ९ महिनामा ३६ करोड २१ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकको यस्तो आम्दानीमा २३.५५ प्रतिशतले कमी हो ।

अन्य कुनको बैंकले सेयर कारोबार मार्फत कति गरे आम्दानी ?

स्रोतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण, रकम रु हजारमा


प्रतिक्रिया दिनुहोस्