म्युचुअल फण्डले बढाए सेयर बजारमा लगानी: एक महिनामै १ अर्ब थपियो, ४ फण्ड आक्रामक

काठमाडौं । म्युचुअल फण्डहरुले सेयर बजारमा गर्ने लगानी बढाएका छन् । एक महिनामा म्युचुअल फण्डहरुले १ अर्ब बढीले लगानी बढाएका हुन् ।
संचालनमा रहेका ३९ वटा म्युचुअल फण्डले प्रकाशन गरेको चैत मसान्तसम्मको वित्तीय रिपोर्टले यस्तो देखाएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ वटा बन्दमुखी र ७ वटा खुलामुखी फण्ड सूचीकृत छन् । गत फागुन मसान्तसम्मको तुलनामा फण्डहरुको सेयर बजारमा लगानी ५.३९ प्रतिशतले बढेको हो । चैत मसान्तसम्म आईपुग्दा फण्डहरुको सेयर बजारमा २० अर्ब ६२ करोड ९६ लाख ८७ हजार रुपैयाँ लगानी गरेका छन् । तर, गत फागुन मसान्तसम्ममा भने १९ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ लगानी गरेका थिए । समिक्षा अवधिमा अधिकांश फण्डहरुले सेयर बजारमा लगानी वृद्धि गरेका छन् । केहीको भने गिरावट देखिएको छ ।
सिद्धार्थ र सानिमा इक्विटी फण्डको सबैभन्दा धेरै लगानी
सिद्धार्थ इक्विटी फण्डले सयर बजारमा सबैभन्दा धेरै लगानी गरेको छ । चैत मसान्तसम्ममा १ अर्ब ११ करोड १२ लाख ७२ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको हो । जुन गत फागुन मसान्तसम्मको तुलनामा २.८५ प्रतिशतले बढी हो । गत फागुन मसान्तसम्ममा भने १ अर्ब ८ करोड ४ लाख रुपैयाँ लगानी गरेको थियो । यस्तै, सानिमा इक्विटी फण्डले भने चैत मसान्तसम्ममा १ अर्ब ३ करोड ५९ लाख ९४ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । तर, गत फागुन मसान्तसम्मको तुलनामा भने झिनो गिरावट हो । फागुन मसान्तसम्म १ अर्ब ४ करोड २५ लाख रुपैयाँ बढी सेयर बजारमा लगानी गरेको थियो ।
एनआईबीएल ग्रोथ सहित चार वटा फण्डले बढाए धेरै लगानी
चैत मसान्तसम्ममा सबैभन्दा धेरै लगानी एनआईबिएल ग्रोथ फण्डले बढाएको छ । एक महिनामै फण्ड ६९.२० प्रतिशतले सेयर बजारमा लगानी वृद्धि गरेको हो । यस फण्डले चैतसम्म ३१ करोड ५५ लाख ६८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । तर, गत फागुनमा भने १८ करोड ६४ लाख ९९ हजार रुपैयाँ मात्रै लगानी गरेको थियो ।
यस्तै, समिक्षा अवधिमा सनराइज फोकस्ड इक्विटी फण्डले पनि ३९.४४ प्रतिशतले सेयर बजारमा लगानी बढाएको छ । योसंगै चैत मसान्तसम्ममा फण्डको सेयर बजारमा लगानी १६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । तर, फागुन मसान्तसम्ममा भने १२ करोड १ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो ।
यता, एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड–दोस्रोले सेयर बजारमा लगानी २८.९५ प्रतिशतले बढाएको छ । गत फागुन मसान्तसम्ममा ४५ करोड २८ लाख ३२ हजार रुपैयाँ लगानी गरेको फण्डले एक महिनामै १३ करोड १० लाख रुपैयाँले बढाएको छ। योसंगै चैत मसान्तसम्ममा फण्डको सेयर बजारमा ५८ करोड ३९ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरि एनआईबीएल सहभागिता फण्डले चैत मसान्तसम्ममा ६५ करोड ८८ लाख रुपैयाँ बढी सेयर बजारमा लगानी गरेको छ । जुन गत फागुन महिनाको तुलनामा २० प्रतिशतले बढी हो ।
कुनको कति ?
