१० श्रावण २०८३, आइतबार

नयाँ व्यवसाय बढाउन तातिए जीवन बीमा कम्पनीः नेपाल लाइफको धेरै, नेशनललाई पच्छ्याउँदै सुर्यज्योति, कसको विजनेश कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा बढोत्तरी देखिएको छ । कम्पनीहरुले एक महिनामै थप साढे दुई अब बढीको नयाँ व्यवसाय भित्रएका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । संचालनमा रहेका जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले एक महिनामा २ अर्ब ४८ करोड ८ लख १६ हजार रुपैयाँ बराबरको नयाँ व्यापार गरेका हुन् ।

चालु आवको ९ महिनामा भने कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । जुन गत फागुन महिनासम्मको तुलनामा भने १३.३९ प्रतिशतले बढी हो । गत फागुन महिनासम्ममा कम्पनीहरुको नयाँ व्यवसाय १८ अर्ब ५२ करोड ४४ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।

नेपाल लाइफको नयाँ व्यवसाय सबैभन्दा धेरै, एक महिनामै भित्र्यायो ५८ करोड ८१ लाखको बिजनेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ व्यवसाय सबैभन्दा धेरै देखिएको छ । कम्पनीले एक महिनमै थप ५८ करोड ८१ लाख ४० हजार रुपैयाँ बराबरको नयाँ व्यापार भित्र्याएको हो । योसंगै चालु आवको ९ महिनामा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ४ अर्ब ६ करोड १६ लाख ५६ हजार रुपैयाँ रहेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा भने १६.९३ प्रतिशतले बढी हो । सो महिनासम्ममा कम्पनीले कुल ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

नयाँ बिजनेशमा नेशनल लाइफको दोस्रो पोजिशन, साढे दुई अर्बको नयाँ व्यवसाय

सबैभन्दा धेरै नयाँ बिजनेश गर्नेको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । कम्पनीले एक महिनामै ३१ करोड ४ लाख रुपैयाँ बढीको नयाँ व्यापार भित्र्याएको छ । योसंगै चालु आवको ९ महिनामा कम्पनीले कुल २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा १३.४३ प्रतिशतले बढी हो । गत फागुन मसान्तसम्ममा कम्पनीले कुल २ अर्ब ३१ करोड ९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको थियो ।

सुर्यज्योति, एलआईसीसहित ७ कम्पनीको नयाँ विजनेश १ अर्ब माथि

चालु आवको ९ महिनामा ७ वटा जीवन बीमा कम्पनीको नयाँ बिजनेश १ अर्ब माथि पुगेको छ । समिक्षा अवधिमा सुर्यज्योति लाइफको प्रथम बीमा शुल्क १ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ बढी छ । कम्पनीले एक महिनामै थप २३ करोड ९४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । गत फागुन मसान्तसम्ममा १ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले एक महिनामै १४.५६ प्रतिशतले बढाएको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले पनि एक महिनामा १३.६६ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ६५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको ९ महिनामा सन नेपाल लाइफको प्रथम बीमा शुल्क १ अर्ब ३१ करोड ७३ लाख, सिटिजन लाइफको १ अर्ब २७ करोड ७२ लाख, सानिमा रियान्सले १ अर्ब १९ करोड ५१ लाख, एशियनको १ अर्ब ४ करोड ९० लाख र रिलायवल नेपाल लाइफको १ अर्ब ४ करोड ६८ लाख रुपैयाँ रहेको छ । यी कम्पनीहरुले एक महिनमै क्रमशः १०.२२ प्रतिशत, ८.४३ प्रतिशत, १३.५२ र १२.६२ प्रतिशतले नयाँ व्यवसाय बढाएका हुन् ।

कुन कम्पनीको नयाँ व्यवसाय कति ?

चालु आवको ९ महिनामा आइएमई लाइफको नयाँ व्यवसाय १५.९८ प्रतिशत, युनियन लाइफको ९.८६ प्रतिशत, मेट लाइफ ११.८३ प्रतिशत, प्राइमको १३.८८ प्रतिशतले बढाएका छन् ।

यस्तै, राष्ट्रिय बीमा संस्थानले १०.२२ प्रतिशत, प्रभु लाइफले १२.८७ प्रतिशत, महालक्ष्मीले १६.८९ र गुराँस लाइफले २२.५९ प्रतिशतले नयाँ व्यवसाय बढाएका हुन् ।