बीमा क्षेत्रकै ठुलो मर्जरः तीन कम्पनी गाभिएपछि यस्तो बन्यो हिमालयन लाइफ, आजदेखि एकीकृत कारोबार
काठमाडौं । बीमा क्षेत्रकै ठुलो सफल मर्जर भएको छ । नेपाली बीमा बजारमा तीन कम्पनीको मर्ज भई आजदेखि एकीकृत कारोबार थालनी गरेको छन् ।
युनियन लाइफ, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ । आजदेखि सोही नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ । यी तीनै वटा कम्पनीहरुलाई एक आपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमति पाएको थियो । यस्तै, नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृत पाएको थियो ।
मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।
गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् । कम्पनीको तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब ६९ करोड बढी पुगेको छ ।
यी तीनै वटा कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्ज भएका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेको एक वर्षपछि एकीकृत कारोबार थालनी गरेको हो ।













