प्रभुसँग मर्जर तोडेको अजोडलाई फेरि अर्को धक्का, युनाइटेडले पनि ८२ मात्रै दिने

काठमाडौं । प्रभु इन्स्योरेन्ससँग १००ः७० अनुपातमा मर्जरमा जाने समझदारी भएपछि स्वाप रेसियोमा आफूहरुलाई हेपेको भनेर अजोड इन्स्योरेन्सले मर्जर तोडेको थियो । तर ‘अभागीलाई जता नि ठक्कर’ भनेजस्तै भएको छ । प्रभुसँग मर्जर तोडेर युनाइटेड इन्स्योरेन्ससँग लगन गाँठो कस्न आएको अजोडलाई अर्को धक्का लागेको छ ।
सुरुआति छलफलमा अजोडको सेयरलाई १००ः९० अनुपातमा मर्जर गर्ने समझदारी भएको थियो । चल/अचल सम्पत्ती, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन (डीडीए) तयार भएपछि अन्तिम टुंगो लगाउने भने पनि अजोडको हालको १ कित्ता सेयरलाई ९० रुपैयाँ दिन युनाइटेड राजी भएको थियो । तर अब ८२ रुपैयाँ ५० पैसामात्रै दिने भएको छ ।
सोमबार सम्पन्न साधारण सभाले १००ः८२.५ अनुपातमा मर्जर गर्ने प्रस्ताव पारित गरेको छ । यसले अजोडका लगानीकर्तालाई घाटा पर्ने देखिएको छ । यसै पनि अजोड इन्स्योरेन्स नयाँ त हो, तर युनाइटेडभन्दा निकै राम्रो व्यवसाय गरिरहेको छ ।
२०५० साल मंसिरदेखि व्यवसाय थालेको युनाइटेड इन्स्योरेन्स अहिले पनि बीमाशुल्कका आधारमा नेपालको दोस्रो सानो निर्जीवन बीमा कम्पनी हो । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार गत चैत मसान्तसम्म युनाइटेडले ९५ करोड ३२ लाखमात्रै बीमाशुल्क उठाउन सकेको छ । नेशनल इन्स्योरेन्सपछि यो नै सबैभन्दा कम हो । चैतसम्म १ अर्ब पनि बीमा शुल्क उठाउन नसक्ने यिनै दुई कम्पनीमात्रै हुन् ।
जबकी, २०७५ असारबाटमात्रै व्यवसाय थालेको अजोडले १ अर्ब ४४ करोड ३२ लाखभन्दा धेरै बीमाशुल्क उठाइसकेको छ । बीमालेखको आँकडाले पनि अजोडलाई नै अब्बल देखाउँछ । अजोडले हालसम्म १ लाख ५ हजार सक्रीय बीमालेख जारी गरेको छ भने युनाइडेटले ८८ हजार पनि पुर्याउन सकेको छैन । बीमाशुल्कक आधारमा अहिले कायम रहेका १६ वटा निर्जीवन बीमा कम्पनीमा अजोडको स्थान ९ औं छ भने युनाइटेडको १५ औं स्थानमा छ ।
तर यी दुई कम्पनीहरु मिलेपछि भने यसको आकार ठूलो हुने छ । चैत मसान्तसम्मको आँकडालाई मान्दा यी दुई कम्पनी आपसमा गाभिएपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्ससँग करीब २ अर्ब ४० करोडको बीमालेख हुने छ । त्यो भनेको देशको चौंथो ठूलो बीमा कम्पनी बन्नु हो । अहिले ४ अर्ब १५ करोडभन्दा धेरै बीमालेख बोकेको शिखर पहिलो नम्बरमा छ भने सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग साढे ३ अर्ब हाराहारीको बीमाशुल्क छ ।
त्यसपछिको हिमालयन एभरेस्ट र नेकोजस्ता ठूला कम्पनीलाई उछिनेर यो कम्पनी देशको चौंथो ठूलो निर्जीवन बीमक बन्ने छ । तर मर्जर हुँदा पनि कम्पनीको चुक्ता पूँजी भने अपुग नै हुने देखिएको छ । अजोडलाई ८२.५ प्रतिशतमात्रै मूल्य दिँदा उसको चुक्तापूँजी ८२ करोड ५० लाखमा झर्छ । त्यसमा युनाइटेडको चुक्तापूँजी जोड्ने हो भने १ अर्ब ९० करोड ४५ लाख ६८ हजारमात्रै हुन आउँछ ।
युनाइटेडसँग अहिले १ अर्ब ७ करोड ९५ लाख ६८ हजार चुक्ता पूँजी छ भने अजोडसँग १ अर्ब चुक्ता पूँजी रहेको छ । मर्जरको यो बदलिएको निर्णयका कारण मंगलबारको सेयर बजारमा पनि असर परेको छ । मंगलबार सेयर बजारमा अजोड इन्स्योरेन्सको सेयर मूल्य १ रुपैयाँ बढेर ४०० रुपैयाँमा बन्द भएको छ ।
युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य भने ७ रुपैयाँ (१.६७ प्रतिशत) बढेर ४२६ रुपैयाँमा बन्द भएको छ ।
यसरी हेर्दा अहिले पनि युनाइटेडको तुलनामा अजोडको सेयर मूल्य ९४ प्रतिशत छ । यसले दोस्रो बजारमा अझै युनाइटेडको भाउ बढ्ने ठाउँ रहेको देखाउँछ ।
हालैमात्र मर्जर भएका यसका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य तुलना गर्ने हो भने पनि त्यस्तै देखिन्छ । सानिमा जीआईसीको मूल्य ७ रुपैयाँ सस्तिएर ४३३ मा बन्द भएको छ । जबकी, अहिले नै यो कम्पनी बीमाशुल्कका आधारमा ८ औं स्थानमा छ भने उक्त मर्जरपछि ९ औंमा झर्ने छ ।
मर्जरपछि योभन्दा सानो बन्ने हिमालयन एभरेस्टको सेयर मूल्य अहिले पनि ४२८ रुपैयाँ छ । यो मर्जरपछि बन्ने कम्पनीभन्दा अलि राम्रो ब्यापार भएको सिद्धार्थ प्रिमियरको भाउ अहिले ५६९ रुपैयाँ छ । मर्जरअघि सगरमाथा इन्स्योरेन्सको भाउ ६६६ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको भाउ ५१० रुपैयाँमा बन्द भएको थियो । सर्वाधिक राम्रो ब्यापार गर्ने शिखर इन्स्योरेन्सको भाउ ७१५ रुपैयाँ छ ।
एकातिर निर्धारित चुक्ता पूँजी नै नपुग्ने भएकाले बोनश सेयर (स्टक डिभिडेण्ट) दिनुपर्ने बाध्यता, अर्कातिर प्रतिस्पर्धी कम्पनीभन्दा सस्तो भाउ भएका कारण युनाइटेडमा लगानीकर्ता झुम्मिएका छन् । अहिले बजार निकै तल्लो तहमा झरेको छ । यस्तो बेला कम्पनीको व्यवसाय निकै फस्टाउन नसकेको भए पनि युनाइटेड ठूलो कर्पोरेट घरानाको लगानी भएको कम्पनी हो ।
अहिले पनि युनाइटेडको अध्यक्ष रविभक्त श्रेष्ठ छन्, उनी अर्बपति विनोद चौधरीका सबैभन्दा विस्वासिलो व्यवासयीक साझेदार र नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । अजोड इन्स्योरेन्सको अध्यक्ष भने आजाद श्रेष्ठ छन् । उनी २०६७ सालमा उद्योग बाणिज्य महासंघको अध्यक्ष पदमा करीब ४१ प्रतिशत भोट ल्याएर सुरज वैद्यसँग हारेका थिए ।