१० श्रावण २०८३, आइतबार

नेशनल लाइफको मुनाफा बढ्यो: प्रिमियम र बीमा कोषको आकार पनि बढ्यो, यस्ता छन् अन्य सूचकहरु



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा १६.१६ प्रतिशतको बढोत्तरी देखिएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २९ करोड ६९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४ करोड १३ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले २५ करोड ५६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९.३९ प्रतिशतले बढेर ११ अर्ब १३ करोड १५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कम्पनीले ३ करोड ३३ लाख ९४ हजार, बीमालेखको धितो कर्जाबाट ३९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको ९ महिनामा कम्पनीले अभिकर्ता कमिशनका लागि १ अर्ब ८ करोड ८६ लाख ८५ हजार रुपैयाँ र बीमितको स्वास्थ्य परिक्षणमा १ करोड ३ लाख रुपैयाँ खर्चिएको छ ।

सो अवधिमा कम्पनीले कुल ५ अर्ब ६५ करोड ५८ लाख ७२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले ३६ हजार ५७१ वटा कुल दावी भुक्तानी दिएको हो । यद्यपि, भुक्तानी हुन बाँकी दावी रकम भने ७९ करोड ३० लाख ६४ करोड ४ लाख ३१ हजार रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ३२ करोड ९१ लाख ३३ हजार रुपैयाँ राखेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ३७.८१ प्रतिशतले कमी हो ।

कम्पनीको जीवन बीमा कोषको आकार भने १८.८० प्रतिशतले बढाएर ५ अर्ब ८२ करोड ८३ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २६ पैसा कायम भएको छ ।