बीमा क्षेत्रमा ८ वटा मर्जर सफल: अब युनाइटेड अजोड र प्रभु महालक्ष्मीको कहिले ?
काठमाडौं । नेपाली बीमा क्षेत्रमा बीमा कम्पनीहरुको मर्जर निकै उत्साहजनक रुपमा सफल भएको छ ।
बीमा कम्पनीहरुको चुुक्तापूँजी बढाउने नीति ल्याएपछि बीमा क्षेत्रमा ८ वटा मर्जर सफल भएका छन् । बीमा क्षेत्रमा ११ वटा मर्जर सहमती भएको थियो, त्यसमा प्रभु र अजोड इन्स्योरेन्सको मर्जर सहमती भाँडीएको थियो ।
त्यसबाहेक अझै दुई वटाको मर्जर सफल हुन बाँकी देखिएको हो । अब अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स तथा प्रभु लाइफ र महालक्ष्मी लाइफको मर्जर हुन बाँकी छ । अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमती भएको थियो ।
प्रभुसँग मर्जर सहमती भाँडीएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमती गरेको थियो । युनाइटेड र अजोड १००:९० को अनुपातमा मर्ज हुन लागेका हुन् । यी दुवै कम्पनीको बिशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । यी दुवै कम्पनीहले आगामी जेठ २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृत समेत प्रदान गरिसेको छ ।
यस्तै, गत असार ३० मै मर्जर सहमती गरेका महालक्ष्मी लाइफ र प्रभु लाइफको एकीकृत हुन बाँकी छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राख्ने सहमती भएको थियो । उनीहरु १:१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । तर, अझै उनीहरुले एकीकृत कारोबार सुरु गरेका छैनन् । मर्जर प्रस्ताव पारित गर्नका लागि यी दुई कम्पनीले जेठ २६ गते छुट्टाछुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका छन् ।
पहिला जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्युनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । तर, नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७८ चैतमै एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम भनेको छ । त्यसको लागि आगामी असार मसान्तसम्मको म्याद दिइएको छ । त्यसपछि बीमा कम्पनीहरु मर्जर मार्फत चुक्तापुँजी बढाउन लागेका हुन् । त्यसमा हालसम्म ८ वटा मर्जर सफल भएको छ।
जीवन बीमा तर्फ तीन मर्जर सफल
जीवन बीमा क्षेत्रमा तीन मर्जर सफल भएको छ । साविकको सुर्या लाइफ र ज्योति लाइफ मर्ज भई सूर्याज्योतिको नामबाट एकीकृत कारोबार सुरु भईसकेको छ ।
यस्तै, रिलायन्स र सानिमा एक आपसमा गाभिएर सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । यता, प्राइम लाइफ गुराँस र युनियन लाइफ पनि एक आपसमा गाभिएर हिमालयन लाइफको नाममा एकीकृत कारोबार सुरु भईसकेको छ ।
निर्जीवन बीमा तर्फ ५ वटा मर्जर सफल
निर्जीवन बीमा क्षेत्रमा भने पाँच वटा मर्जर सफल भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच बीमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ । यी दुई कम्पनी एकआपसमा गाभिएर हिमालय एभरेष्टको नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
यस्तै, सानिमा जनरल र जनरल मर्ज भई सानिमा जिआईसी, प्रिमियर र सिद्धार्थ मर्ज भई सिद्धार्थ प्रिमियरको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
त्यसैगरि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल एक आपसमा गाएिर सगरमाथा लुम्बिनी (सलिको) को नामबाट संयुक्त कारोबार गरेका छन् ।
यता, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीहरु पनि मर्जरमा गई आइजीई प्रुडेन्सियलको नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।













