मासिक ७.७६ प्रतिशतको महँगी खेप्दै नेपाली, सरकारको लक्ष्यअनुसार छैन मूल्यवृद्धि नियन्त्रण
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । चालु आवको १० महिनासम्म आईपुग्दा मूल्य वृद्धि सरकारको लक्ष्य भन्दा माथि पुगेको पाइएको छ ।
चालु आवको बैशाख मसान्तसम्म आईपुग्दा मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी छ । तर, सरकारले भने चालु आवमा मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिएको थियो ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार पनि साउनदेखि बैशाखसम्म आउँदा कुनै पनि महिनामा लक्ष्यअनुसार मुल्यवृद्धि नियन्त्रण नभएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।
तथ्यांकअनुसार हरेक महिना मुल्यवृद्धि ७ प्रतिशत भन्दा माथि छ नै छ । गत साउनदेखि कात्तिकसम्म मुल्यवृद्धि ८ प्रतिशत भन्दा मािथ थियो । त्यस यता भने मुल्यवृद्धि ७ प्रतिशतदेखि ८ प्रतिशतको बीचमा रहेको छ । यो १० महिनाको औसत मूल्यवृद्धि भने ७.८६ प्रतिशत रहेको छ । औसतमा नेपालीहरुले मासिक ८.७६ प्रतिशतको महँगी खेपीरहेका हुन् ।
तथ्याङ्कअनुसार चालु आवको पहिलो महिनामा मूल्यवृद्धि ८.२६ प्रतिशत रहेको थियो । भदौ महिनामा बढेर ८.६४ प्रतिशत पुगको छ । गत असोज महिनामा भने झिनो घटेर ८.५० प्रतिशतमा झरेको देखिन्छ । यस्तै, कात्तिकमा मूल्यवृद्धि ८.०८ प्रतिशत, मंसिरमा ७.३८ प्रतिशत र पुसमा ७.२६ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, चालु आवको माघ मसान्तसम्म आईपुग्दा भने मूल्यवृद्धि ७.८८ प्रतिशत, फागुनमा ७.४४ प्रतिशत र चैतमा ७.७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको बैशाख महिनामा मूल्यवृद्धि ७.८७ प्रतिशत रहेको थियो । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने मूल्यवृद्धि घटेर ७.४१ प्रतिशत कायम भएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ८.८९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत रहेको छ । यस्तै, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।
त्यसैगरि समिक्षा महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको वैशाख महिनामा यी क्षेत्रहरुमा मूल्यवृद्धि क्रमश: ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत रहेको थियो।
चालु आवको वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमश: ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.६४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमश: १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ ।













