१० श्रावण २०८३, आइतबार

९.८८ गुणाले बढ्यो लघुबीमा व्यवसाय: एक महिनामै १ लाख ८२ हजार पोलेसी बिक्री, नेशनल र सिटिजन अगाडि



काठमाडौं । जीवन बीमा कम्पनीहरुको लघुबीमा बीमा व्यवसाय बढेको छ । कम्पनीहरुले एक महिनामै पौने २ लाख लघुबीमा पोलेसी बिक्री गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार कम्पनीहरुले जेठ महिनामा मात्रै १ लाख ८२ हजार ९७९ वटा लघुबीमा पोलेसी बिक्री गरेका हुन् । सो बराबरको पोलेसी बिक्रीबाट कम्पनीहरुले १६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जेठ महिनामा मात्रै कम्पनीहरुले लघुबीमा तर्फ नयाँ व्यवसाय (प्रथम बीमा शूल्क) १५ करोड ९२ लाख रुपैयाँ भित्र्याएका छन् । प्राधिकरणका अनुसार लघुबीमा नविकरण मार्फत भने कम्पनीहरुले ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

चालु आवको ११ महिनामा भने कम्पनीहरुले लघुबीमा अन्तर्गत कुल ४१ लाख ६९ हजार २०६ वटा बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले २ अर्ब १३ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । कम्पनीहरुको लघुबीमा पोलेसी बिक्री गत आवको समिक्षा अवधिको तुलनामा भने २०.३२ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ लाख ६४ हजार ९२१ वटा बीमालेख बिक्री गरेका थिए । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीले २१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । एक वर्षमै लघुबीमा व्यवसाय ९.८८ गुणाले बढेको हो ।

विशेषगरि नेपाली बीमा बजारमा अब नयाँ लघुबीमा कम्पनीहरु संचालनमा आउन लागेका छन् । नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि ठुला पुराना कम्पनीहरु व्यवसाय बढाउनतर्फ केन्द्रित देखिएका हुन् । प्राधिकरणको तथ्याङ्क पनि पुराना ठुला कम्पनीहरुले लघुबीमा व्यवसाय आक्रामक बनाएको देखिन्छ, कम्पनीहरु व्यवसाय बढाउन तिव्रता दिएका छन् । यसअघि पुराना ठुला बीमा कम्पनीहरुबाट लघुबीमा बीमामा खास राम्रो काम हुन सकिरहेको थिएन । यद्यपि, नयाँ लघुबीमा आउने भनिएपछि पुराना कम्पनीहरु व्यवसाय बढाउने तर्फ लागेको बताइन्छ ।

बीमा प्राधिकरणले गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमा पुहँच पुर्याउने उद्देश्य सहित लघुबीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले सातै प्रदेशमा १/१ वटा लघुबीमा स्थापना गर्ने गरि ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिइ सकिएको छ ।

नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि न्युन आय वर्गका व्यक्तिहरुको जीवनस्तर उकास्न लघुबीमा व्ययवसायले प्रभावकारी भुमिका खेल्ने विज्ञहरुको भनाई छ । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १३ वटाले लघुबीमा व्यवसाय गर्दै आएका छन् ।

लघुबीमा व्यवसायमा नेशनल लाइफ अगाडि, १२ लाख १९ हजार बढी पोलेसी बेच्यो

लघुबीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । नेशनल लाइफ सबैभन्दा धेरै लघुबीमा व्यवसाय गरेको छ।

चालु आवको जेठ मसान्तसम्म आईपुग्दा नेशनलले लघुबीमा मार्फत ७१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १२ लाख १९ हजार १९२ वटा बीमालेख बिक्री गरेको छ । जेठ महिनामा मात्रै कम्पनीले ६ करोड ३ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । सो महिनामा कम्पनीले ४५ हजार २३२ वटा लघुबीमालेख जारी गरेको थियो ।

दोस्रो बन्यो सिटिजन लाइफ, साढे १० लाख बढी बीमालेख बिक्री

लघुबीमा व्यवसाय धेरै गर्नेको दोस्रो स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ११ महिनामा १० लाख ६९ हजार ८८६ लघुबीमालेख बिक्री गरि कुल ४९ करोड ८६ लाख रुपैयाँ प्रिमियम उठाएको छ । जेठमा मात्रै कम्पनीले ५८ हजार ८४८ बीमालेख बिक्री गरेको छ । सो बराबरको बीमालेख बिक्रीबाट ४ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

अन्य कुनको कम्पनीको कति ?

समिक्षा अवधिमा सानिमा लाइफले लघुबीमा मार्फत २८ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जेठ मसान्तसम्ममा कम्पनीले ८ लाख ९८ हजार ९०४ वटा बीमालेख बिक्री गरेकोृ छ । जेठ महिनामा मात्रै कम्पनीले ३८ हजार ५ वटा बीमालेख बिक्री गरि कुल १ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

तथ्याङ्क अनुसार सूर्यज्योतिले पनि ११ महिनामा १९ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ लाख २३ हजार ३०० वटा बीमालेख बिक्री गरेको हो ।

यस्तै, मेट लाइफले लघुबीमा मार्फत १६ करोड ९६ लाख, महालक्ष्मी लाइफले १४ करोड, प्रभु लाइफले ६ करोड ४३ लाख, सन नेपाल लाइफले ४ करोड २१ लाख, एशियन लाइफले १ करोड ९९ लाख, रिलायवल नेपालले १ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, नेपाल लाइफले भने ५३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ४४ लाख र हिमालयन लाइफले ६४ हजार रुपैयाँ मात्रै लघुबीमाबाट प्रिमियम संकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्