लक्ष्मी र सनराइज बैंकले एकीकृत कारोबारको मिति जुर्यो, मर्जपछि यस्तो बन्यो बैंक !
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबारको मिति परिर्वतन गरेको छ । सरकारलाई २५ गतेभित्र कर तिरिसक्नुपर्ने हुँदा कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएपछि एकीकृतको मिति असार २८ गतेका लागि तय गरेको हो ।
यसअघि २४ गते एकीकृत कारोबार सुरु गर्ने भनेको थियो । नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकलाई आपसमा गाबिएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरिएको छ ।
सनराइजको तर्फबाट संचालक बन्ने भनेका मोतीलाल दुगड (हालका अध्यक्ष) नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृत दिएको हो । राष्ट्र बैंकले दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने जनाएको थियो । सनराइजले उनको नाम हटाएर नयाँ नाम प्रस्ताव गरेसँगै अन्तिम स्वीकृत पाएको हो ।
मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन् । यता, बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।
मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् । एकीकृत कारोबारको अन्तिम तयारीमा रहेको बेला सनराइज बैंकका सीईओ सुमन शर्मा भने बाहिरिने भएका छन् । स्वेच्छिक अवकास सुविधामा शर्मा बाहिरिने भएका हुन् ।
लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।













