‘नाडा अटो शो-२०२३’ को लागि स्टल बुकिङ्ग खुल्ला
काठमाडौं । नाडा अटो शो २०२३ को लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ। नाडा अटो शो २०२३ भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डप परिसरमा आयोजना गर्ने भएको हो ।
नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत बर्ष केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न सकेको थिएन । यस्तो विपरित स्थितिमा नाडाले आफनो इतिहासमा पहिलो पटक गतबर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।
नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँग्रे, तीन पाँग्रे तथा दुई पाँग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने छन् । त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछी हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा कम्पनीले राखेको छ।
कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको छ । त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा कम्पनीले गरेको छ ।













