मौद्रिक नीतिले बिच्किएका लगानीकर्ताले यो साता कता लालान् सेयर बजार ?
नयाँ मौद्रिक नीतिबाट बेखुस भएका सेयर लगानीकर्ताले गत साता जस्तै यो साता पनि बजारलाई ओरालो बाटोमा धकेल्छन्, या विस्तारै बृद्धिको बाटोमा अघि बढ्छ भन्ने स्पष्ट भएको छैन ।
काठमाडौं । एक साता अघि अर्थात् गत आइतबार मौद्रिक नीति आउनुअघि बजार एकै दिन ६३ अंक बढेको थियो । सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए । तर बजार बन्द भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका केही व्यवस्थाको थप ब्याख्या गरेर भावि निर्देशनबारे पूर्व जानकारी गराए । उनले २५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशतमात्रै जोखिम भार राख्नुपर्ने पुरानो व्यवस्थालाई ५० लाखसम्मको सीमामा विस्तार गर्न खोजिएको बताए । यसले करोडौं, अर्बैं लगानी गर्ने ठूला लगानीकर्ता बेखुस भए र बजार ओरालो लाग्न थाल्यो ।
सकारात्मक मौद्रिक नीति आउने अभिलाषामा सेयर किनेका धेरै लगानीकर्ता गत साताका पछिल्ला दिनमा निरास देखिए । मौद्रिक नीतिबाट पर्याप्त र अपेक्षाकृत सुधार हुन नसकेको भनेर बिच्किएका लगानीकर्ताले अब कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने हेर्न बाँकी छ । तर यस्ता प्रतिक्रियात्मक प्रभावहरु सेयर बजारले लामो समय थेग्न सक्दैन । बजार केही घटेपछि स्वाभाविक रुपमा माग बढ्छ र त्यसले बजारलाई उकालो लाग्न सघाउँछ । त्यसै पनि पिहोर सालभन्दा अहिले निकै सकारात्मक परिवेश छ, भलै मार्जिन कर्जामा अपेक्षित सुधार हुन नसकेको होस् ।
मौद्रिक नीतिमा निर्भरता
पछिल्ला वर्षमा सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने नीतिगत दस्तावेजको रुपमा मौद्रिक नीतिलाई मान्न थालिएको छ । सरकारको बजेट वा कम्पनीहरुको वित्तीय विवरणभन्दा मौद्रिक नीतिका व्यवस्थाले नेपाली पूँजीबजारलाई सर्बाधिक प्रभाव पारिरहेको हुन्छ । कोभीडपछि मौद्रिक नीतिबाटै राष्ट्र बैंकले सेयर बजार उचालेको थियो । पछि अर्थतन्त्रको जग नै हल्लिन थालेको भनेर केन्द्रिय बैंकले नै नीतिगत कडाई गर्यो । यसले ३२ सय अंकमा पुगेको सेयर बजारलाई १८ सयमा झारिदियो । अब फेरि सेयर बजार मैत्री नीति आउन सक्ने अनुमानका बीच साउन पहिलो साता ७९ अंक हाराहारी बढेको नेप्से गत साता भने ओरालो लागेको थियो ।
गत साताका पछिल्ला दिनहरुमा भारी अन्तरले परिसूचक ओरालो लागे पनि सुरुआति बृद्धिका कारण साप्ताहिक परिवर्तनमा भने ज्यादै ठूलो रफ्तार देखिएन । अघिल्लो हप्ता २१ सय ८० अंक नजिक पुगेको नेप्से गत साता ३७ अंक घटेर २१ सय २६ अंकमा बन्द भएको छ । मौद्रिक नीतिले सेयर कर्जाको जोखिमभार घटाउने र ‘लोन टु भ्याल्यू रेसियो’ पनि खुकुलो पार्ने अपेक्षा धेरैले गरेका थिए । तर त्यसो भएन र राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जाका लागिमात्रै जोखिमभार घटाउने भन्यो र ‘लोन टु भ्याल्यू रेसियो’ पनि स्थिर राख्यो । १२ करोडको कर्जा सीमा समेत हटाउन राजनीतिक लबिङ गरिरहेका ठूला लगानीकर्तालाई ५० लाखसम्मको कर्जामा सहजिकरण गर्ने नीतिले लाभ दिएन । फलस्वरुप नेप्सेमा यो साता निराशा छाएको छ ।
चालु पूँजी कर्जामा सहुलियत दिएर सेयर बजारलाई पृष्ठपोषण गर्ने दिशामा पनि राष्ट्र बैंक धेरै उदार बन्ने अवस्था देखिएन । यसले दोस्रो बजारबाट तुरुन्तै ठूलो लाभ हुने हालत नदेखेपछि सेयर बजार ओरालो लागेको हो । गएको हप्ताभरीमा नेप्से परिसूचक २१ सय २४ देखि २२ सय ४४ सम्म १ सय २० अंकको फराकिलो उतारचढावबीच रह्यो । बजार ओरालो लागे पनि कारोबार रकममा भने सुधार देखिएको थियो । गत साता नेप्सेमा दैनिक औसत ३ अर्ब २७ करोड ५२ लाखको कारोबार भयो, जुन अघिल्लो हप्ता २ अर्ब ९० करोडमा सीमित थियो । बजार सूचकमा आएको गिरावटसँगै नेप्सेको बजार पूँजीकरण पनि घटेको छ । गत विहीबार सेयर बजारको आकार ३१ खर्ब २४ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो हप्ता यस्तो बजार पुँजीकरण ३१ खर्ब ८० अर्बको हाराहारी थियो ।
आगामी परिदृष्य
वित्तीय प्रणालीमा तरलता बढिरहेको छ । गत साल ठूलो वित्त घाटा व्यहोरेको राज्य कोषमा अहिले रकम जम्मा हुने क्रम बढेको छ । यसले सरकारी खर्चका लागि स्रोत व्यवस्थापनमा योगदान गर्छ । यही साउनदेखि ब्याजदर अन्तर (स्प्रेड) घटाउनु पर्ने राष्ट्र बैंकको निर्देशनले पनि आउँदा दिनमा ब्याजदर ओरालो लाग्ने पक्कापक्की छ । बढ्दो तरलता र राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिबाट नीतिगत दरमा पनि कटौति गरेका कारण यसको असर ब्याजदरमा पर्ने नै छ ।
यतिबेला बैंकहरुले अधिक प्रिमियम राख्नाले पनि कर्जा महँगो भएको हो । तर अब विस्तारै तरलता बढ्दै जाँदा बैंकहरु यस किसिमले बढी नाफा खाएर लगानी गर्ने परिपाटीबाट पछि हट्न बाध्य हुने छन् । यस्तो बेला कर्जाको ब्याजदर झनै कम हुनसक्छ । विस्तारै कर्जामा सहजिकरण हुने र सजिलै ऋण पाउन सकिने वातावरण बन्न सक्छ । अर्थतन्त्रका अन्य क्षेत्रहरु तुरुन्तै ठूलो परिमाणमा थप ऋण खपत गर्नसक्ने हालतमा नरहेकाले पनि वित्तीय प्रणालीको तरलताबाट धेरथोर लाभ सेयर बजारले नै पाउने अनुमान गर्न सकिन्छ ।
यस्ता संभावनाको बीच आउँदा दिनमा सेयर बजार उकालो लाग्ने आधार छन् । नेप्सेको प्रबृत्तीले पनि १४ महिनाभन्दा लामो समयदेखि बजार ‘साइडवेज मुभमेण्ट’मा रहेको देखिन्छ । यति लामो समयको ‘प्रतीक्षा’पछि अब बजार उकालो लाग्ने समय आएको छ । बजारको चक्रीय पुनराबृत्ती हुने बेला आएको र तरलता लगायतका पाटोमा पनि सुधारात्मक संकेत देखिएकाले राष्ट्र बैंकको अनुदारताकै बीच पनि सेयर बजारले सुस्त, तर दीगो बृद्धको बाटो समात्ने संभावना बलियो देखिँदै छ । भलै यही हप्तादेखि बजार उकालो लाग्छ की अझै केही साता कुर्नु पर्छ भन्ने बजारले नै देखाउला ।













