खाने तेल निकासी ६४ अर्ब २७ करोडले घट्यो: किन रोकिएन पाम, भटमास र सूर्यमुखी तेल निर्यातको घट्दो ग्राफ ?
काठमाडौं । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने खाने तेल (पाम, भटभास र सूर्यमुखी) निकासीमै गिरावट आएको छ ।
एक वर्षको अवधिमै खाने तेलको निर्यात आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा पाम, भटमास र सूर्यमुखी तेलको निर्यात ६४ अर्ब २७ करोड २७ लाख ११ हजार रुपैयाँले घटेको छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो आवमा ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँ बराबरको पाम, भटमास र सूर्यमुखी तेल नेपालले निर्यात गरेको थियो । तर, गत आवमा भने ६८.६० प्रतिशत अर्थात ३.१८ गुणाले घटेर २९ अर्ब ४२ करोड ६९ लाख ५१ हजार रुपैयाँमा झरेको छ।
समिक्षा अवधिमा पाम तेलको निर्यात ५०.०५ प्रतिशतले घटेर २० अर्ब ५० करोड ९१ लाख रुपैयाँ कायम भएको छ । तर, अघिल्लो आवमा भने कुल ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको पाम तेल नेपालले निर्यात गरेको थियो ।
यस्तै, समिक्षा अवधिमा भटमास तेलको निकासीमा पनि भारी गिरावट आएको छ । अघिल्लो आवमा ४८ अर्ब रुपैयाँ १२ करोड ४ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात गरेको थियो । तर, गत आवमा भने ८२.३८ प्रतिशतले घटेर ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
यता, सूर्यमुखी तेलको निकासी पनि ९०.२१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा नेपालले कुल ४ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको थियो । तर, गत आवमा भने ४४ करोड १८ लाख रुपैयाँमा सिमित भएको छ । एक वर्षको अवधिमा सूर्यमुखी तेलको निर्यातमा ४ अर्ब ७ करोड २६ लाख रुपैयाँ बराबरले घटेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालले छिमेकी मुलुक भारतमा तेलको निर्यात गर्दै आएको छ । विशेषगरि नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् ।
यस्तै, मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।
भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो ।
सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरु बताउँछन् । ‘तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको छ’–एक व्यवसायीले भने ।
भारतले पाम तेलामा भन्सार महसुल घटाएपछि नेपालको निर्यातमा उच्च गिरावट आएको व्यवसायीहरु बताउँछन् । ति व्यवसायीले भने,–‘भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा उच्च गिरावट आएको हो ।’
आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । भन्सार महसुल उच्च हुँदा नेपालबाट ठूलो परिमाणमा तेल निर्यात हुने गरेको थियो ।













