निरन्तर राताम्य बजार, परिसूचक २०१९.८५ बिन्दुमा, कारोबार खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित
काठमाडौं । बजार निरन्तर तेस्रो दिन पनि राताम्य भएको छ । साताका दुई कारोबारको दिन राताम्य भएको बजार तेस्रो दिन पनि सोहि निरन्तरता दिएको हो ।
वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको बेला बजारले अझै गति लिन सकेको छैन ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई आंशिक लचिलो नीति लिएको छ । यसअघि २५ लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशत रहेकामा अब ५० लाखसम्ममा जोखिमभार १०० प्रतिशत बनाइएको छ । यो नीति लगानीकर्ताको माग बमोजिम नभएपनि केहि लचिलो भने पक्कै भएको हो । तर, करोडौं रुपैयाँ कर्जा लिएर लगानी गर्नेले भने खासै राहत पाएका छैनन् । यसकारण पनि बजारको गति लिन नसकेको जानकारहरुको भनाइ रहेको छ ।
बजार बढ्ने र घट्नमा लगानीकर्ताको मनोबल पनि उत्तिकै भुमिका राख्छ । मौद्रिक नीतिबाट मनोबल कमजोर भएका लगानीकर्ता आजै खुसी हुन सकेका छैनन् । सोहि कारण पनि कारोबार रकम पनि निरन्तर खुम्चिदै गएको अवस्था छ ।
बैंक तथा वित्तीय संस्थाको रिपोर्टले लगानीकर्तामा उत्साह ल्याउन सकेको छैन । लाभांश सिजनमा समेत लगानीकर्तामा रौनक आएको देखिदैंन ।
बजार आज २८.४० अकंले घटेको छ । बजार राताम्य हुदाँ परिसूचक समेत खुम्चिदैं २०१९.८५ बिन्दुमा पुगेको छ । मंगलबार २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७० लाख १४ हजा रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको १.७३ प्रतिशत, फाइनान्स समूहको २.६९ प्रतिशत र होटल तथा पर्यटन समूहको १.५४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज आइएमई लाइफको १७ करोड ८९ लाख रुपैयाँ र शिवम सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।














