२४ श्रावण २०८३, आइतबार

व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न हुँदैन: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरे ।

भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले भने,–‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे ।

उनले भने,–‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ ।’

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने,–‘ त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनत: काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने,–‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’