निर्जीवन बीमा व्यवसायको आधा हिस्सा मोटर र सम्पत्ति बीमाले ओगट्यो, बागमतीबाट बढी प्रिमियम असुली
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर र सम्पत्ति बीमाले आधा हिस्सा ओगटेका छन् । यी बीमाले कुल व्यापारको ५५.४८ प्रतिशत हिस्सा ओगटेका हुन् ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल ४० अर्ब २१ करोड २१ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बीमालेख बिक्री गरेका छन् ।
कुल व्यवसायको ३३.०८ प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको छ । गत वर्ष मोटर बीमा मार्फत कम्पनीहरुले १३ अर्ब ३० करोड ३६ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले १७ लाख ४४ हजार ९५३ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।
यस्तै, सम्पत्ति बीमा मार्फत कम्पनीहरुले कुल ९ अर्ब ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्ष यस बीमा अन्तर्गत कम्पनीहरुले ४ लाख ८२ हजार ३०२ वटा बीमालेख बिक्री गरेका हुन् । सम्पत्ति बीमाले कुल निर्जीवन बीमाको २२.४० प्रतिशत हिस्सा ओगटेको छ ।
तेस्रो स्थानमा भने इन्जिनियरिङ्ग बीमा रहेको छ । निर्जीवन बीमा व्यवसायमा इन्जिनियरिङ्ग बीमाले १७.८३ प्रतिशत योगदान दिएको छ। गत वर्ष कम्पनीहरुले ३४ हजार ४१८ वटा बीमालेख बिक्री गरि ७ अर्ब १७ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समिक्षा अवधिमा विविध बीमा अन्तर्गत भने कुल ४ अर्ब ४० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीले १ लाख ७५ हजार ६७७ वटा बीमालेख बिक्री गरेको छ । यस तर्फको बीमाले निर्जीवन बीमा व्यवसायमा १०.९६ प्रतिशत योगदान दिएको छ।
निर्जीवन बीमा व्यवसायमा कृषि तथा बालीको ५.८४ प्रतिशत योगदान छ । यस्तो बीमा मार्फत गत वर्ष कम्पनीहरुले २ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कृषि तथा बाली बीमा तर्फ कम्पनीहरुले कुल १ लाख ८० हजार ९१५ वटा बीमालेख बिक्री गरेका हुन् ।
यता, सामून्द्रिक बीमा मार्फत भने कम्पनीहरुले १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरका छन् । गत वर्ष कम्पनीहरुले यस्तो बीमातर्फ कुल १ लाख ३७ हजार २११ वटा बीमालेख बिक्री गरेका थिए । निर्जीवन बीमा व्यवसायमा सामून्द्रिक बीमाले ४.९३ प्रतिशत योगदान दिएको छ ।
त्यसैगरि हवाई बीमाको योगदान भने ४.७८ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरुले हवाई बीमा अन्तर्गत १५३ वटा बीमालेख बिक्री गरि कुल १ अर्ब ९२ करोड २ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
निर्जीवन बीमा व्यवसायमा सबैभन्दा कम योगदान लघुबीमाको छ । यस्तो बीमा अन्तर्गत गत वर्ष कम्पनीहरुले ६ करोड ९८ लाख ७० हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । समिक्षा अविधमा कम्पनीहरुले ३६ हजार ८८७ वटा बीमालेख बिक्री गरेका हुन् । यसको योगदान ०.१७ प्रतिशत मात्रै रहेको छ ।

बागमती प्रदेशबाट सबैभन्दा धेरै प्रिमियम असुली
गत वर्ष सबैभन्दा धेरै निर्जीवन बीमा व्यापार बागमती प्रदेशमा भएको छ । कुल बीमा शुल्क आर्जनको ६७.३० प्रतिशत हिस्सा बागमती प्रदेशको देखिएको छ ।
समिक्षा अवधिमा बागमती प्रदेशबाट २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन भएको छ । गत वर्ष निर्जीवन बीमा कम्पनीहरुले बागमतीमा १२ लाख ६४ हजार ९८४ वटा बीमालेख बिक्री गरेका छन् ।
दोस्रो स्थानमा भने लुम्बिनी प्रदेश देखिएको छ । कुल निर्जीवन बीमा व्यवसायमा लुम्बिनीको ६.१३ प्रतिशत हिस्सा छ । गत वर्ष लुम्बिनी प्रदेशबाट ३ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले लुम्बिनीमा ४ लाख ३२ हजार ४९७ वटा बीमालेख बिक्री गरेका छन् ।
तेस्रो स्थानमा भने कोशी प्रदेश देखिएको छ । कोशीबाट ३ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । गत वर्ष कम्पनीहरुले कोशी प्रदेशमा कुल ३ लाख ५८ हजार ८३४ वटा बीमालेख बिक्री गरेका छन् ।
यस्तै, मधेश प्रदेशबाट २ लाख ५७ हजार ६८९ वटा बीमालेख बिक्री गरि २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ, गण्डकी प्रदेशमा कम्पनीहरुले २ लाख ७४ हजार ६३० बीमालेख बिक्री गरि कुल २ अर्ब १५ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
सात वटा प्रदेशमा सबैभन्दा कम योगदान भने कर्णालीको छ । गत वर्ष कर्णालीबाट ५३ करोड १९ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा कम्पनीहरुले ६२ हजार १७१ वटा बीमालेख बिक्री गरेका छन् ।
त्यसैगरि सुदुरपश्चिबाट भने १ अर्ब ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा कम्पनीहरुले १ लाख ४१ हजार ७११ वटा बीमालेख बिक्री गरेका थिए ।













