तिन ठुला बैंक: नविल, ग्लोबल आइएमई र एनआइएमबि कुन सूचकमा को तगडा ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

तिन ठुला बैंक: नविल, ग्लोबल आइएमई र एनआइएमबि कुन सूचकमा को तगडा ?



काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई, नविल र नेपाल इन्भेस्टमेन्ट मेगा (एनआइएमबि) बैंक ठुला मानिन्छ । कुल सम्पत्तिको आधारमा पनि यी तीन वटै बैंक अगाडि छन् ।

यी तीन वटा बैंक मर्जर तथा प्राप्ति गएपछि झन् बलियो बनेका छन् । कुल सम्पत्ति, चुक्ता पुँजी, जगेडा कोष लगायतका मुख्य सूचकमा अगाडि नै छन् ।

हाल ग्लोबल आएमई बैंकको कुल सम्पत्ति सबैभन्दा धेरै छ । बैङ्कसँग ५ खर्ब २६ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । गत वर्ष बैंक अफ काठमान्डुलाई प्राप्ति गरेपछि बैंकको सम्पत्तिमा १ खर्ब ६५ अर्ब ८३ करोड ८४ लाख थपिएको छ ।

सम्पत्तिको आधारमा दोस्रो पोजिशनमा भने नविल बैंक छ । बैङ्कसँग हाल ४ खर्ब ८३ अर्ब १ करोड १० लाख रुपैयाँ बराबरको सम्पत्ति छ । एक वर्षमा नविलले ६३ अर्ब १९ करोड २९ लाख रुपैयाँ सम्पत्ति थपेको हो ।

कुल सम्पत्तिको आधारमा भने एनआइएमबि तेस्रो स्थानमा रहेको छ । साबिकको मेगा बैङ्कसँग मर्जरमा गएपछि बैंकको सम्पत्ति २ खर्ब ३ अर्ब ५ करोड ६६ लाख रुपैयाँले बढेको हो । हाल एनआइएमबिसंग ४ खर्ब ४७ अर्ब ५० करोड ५४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । धनी बैंक नवौँ स्थानबाट एनआइएमबि तेस्रो नम्बरमा आइपुगेको छ ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरूलाई लिने गरिन्छ ।

यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याति तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

अब तीन ठुला मानिएका ग्लोबल, नविल र एनआइएमबिको मुख्य सूचकहरूलाई दाँजेर हेरौँ

चुक्ता पुँजी ग्लोबलको धेरै, जगेडा कोषमा नविल तगडा

चुक्ता पुँजीको आधारमा भने ग्लोबल आइएमई बैंकको अगाडि छ । बैंकको चुक्ता पुँजी हाल ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । एनआइएमबिको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख, नविल चुक्ता पुँजी को २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । तर, जगेडा कोषमा भने नविल बैंक तगडा देखिएको छ। बैंकले जगेडा तथा कोषमा भने ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ राखेको छ । यस्तै एनआइएमबिको जगेडा कोषमा २३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ रहेको छ । ग्लोबल आइएमईको जगेडा कोषमा भने २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ देखिएको छ ।

नाफामा नविल अगाडि, पच्छ्याउँदै ग्लोबल आइएमई

खुद नाफामा भने नविल बैंक अगाडि देखिएको छ । गत वर्ष नविलले कुल ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा नविलको नाफा एक वर्षमै ३ अर्ब २७ करोड ११ लाख रुपैयाँले बढेको हो ।

यस्तै, दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई छ । बैंकको गत वर्ष ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबलले अघिल्लो आवको तुलनामा भने २ अर्ब २९ करोड ४२ लाख रुपैयाँले नाफा वृद्धि गरेको हो ।

यता, एनआइएमबिले भने ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा भने ४९ करोड ९० लाख रुपैयाँले नाफा बढाएको छ ।

खुद ब्याज आम्दानी नविलकै धेरै

खुद ब्याज आम्दानी पनि नविल बैंककै धेरै देखिएको छ । समीक्षा अवधिमा नविलले १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी बढेको नै बैंकको नाफा वृद्धिमा टेवा पुगेको हो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले पनि १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यता, एनआइएमबिले भने १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

वितरणयोग्य नाफामा पनि नविल अगाडि

वितरणयोग्य नाफा पनि नविल बैंक अगाडि देखिएको छ । गत वर्ष बैंकको यस्तो मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले आफ्ना सेयर धनीलाई १४.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । तर, बैंकले आफ्ना सेयरधनीहरुलाई भने ८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । यता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा भने १५ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमतामा न्यून देखिएको छ ।

प्रतिसेयर आम्दानी पनि नविलको बढी

प्रतिसेयर आम्दानीमा नविल बैंक अगाडि छ । हाल बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ रुपैयाँ रहेको छ । यस्तै, ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७७ पैसा र नेपाल इन्भेस्टमेन्ट मेगाको १६ रुपैयाँ ७ पैसा रहेको छ ।

नविलको प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ ६८ पैसा, एनआइएमिको को १७० रुपैयाँ ४८ पैसा र ग्लोबल आइएमईको १६४ रुपैयाँ ५ पैसा कायम भएको छ ।

निक्षेप सङ्कलन र कर्जा लगानीमा ग्लोबल पहिलो

निक्षेप सङ्कलन र कर्जा लगानीको आधारमा पनि ग्लोबल आएमई बैंक पहिलो स्थानमा छ । गत वर्ष बैंकले कुल ४ खर्ब २६ अर्ब २५ करोड ५४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । सो अवधिमा बैंकको कर्जा लगानी भने ३ खर्ब ६९ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ देखिएको छ ।

दोस्रो स्थानमा रहेको नविल बैंकले भने गत वर्षभर ३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ४० अर्ब ९८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, एनआइएमबिले भने ३ खर्ब ५४ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब १२ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

एनआइएमबिको खराब कर्जा धेरै

खराब कर्जा भने एनआइएमबिको धेरै देखिएको छ । गत वर्ष बैंकसंग ४.३५ प्रतिशत खराब कर्जा छ । यस्तै, ग्लोबल आइएमईको खराब कर्जा ३.१९ प्रतिशत र नविलको १.२३ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्