नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि: झण्डै तीन अर्बको व्यापार, मुख्य सूचक कस्ता ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीले ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य अर्थात ४ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने २.४० प्रतिशतले वृद्धि भई २ अर्ब ९२ करोड २४ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २ लाख ९७ जहार १५४ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८१ हजार ६३३ वटा छ ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३६ करोड ६८ लाख, लगानी, कर्जा तथा अन्यबाट १८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ६ करोड ३७ लाख र पुनर्बीमा कमिशनका लागि ८ लाख र सेवा शुल्क वापत १ करोड ३९ लाख रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ९ करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको छ ।
गत वर्ष कम्पनीले कुल १ अर्ब ६५ करोड७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले १० जहार ९९४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने १ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले १० हजार ६१ वटा दावी भुक्तानी गरेको छैन ।
कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा भने १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा २०.३५ प्रतिशतले बढेको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा रहेको छ ।













