आरओईमा बैङ्कहरूको चर्को उछिनपाछिन: शीर्ष स्थानमा चार्टर्ड, एनआईसी र एभरेष्ट, सानिमाले फड्को मार्दा कुमारी कसरी पुच्छरमा ?

काठमाडौँ । वाणिज्य बैङ्कहरूको रिटर्न अन इक्विटी (आरओई) औसत साढे ११ प्रतिशत छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले गत वर्ष ११.५६ प्रतिशत प्रतिफल दिन सक्ने नाफा कमाएका छन् ।
यो बैङ्कहरूले प्रकाशन गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैङ्कहरूले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ बढी नाफा कमाएका छन् ।
सेयरमा प्रतिफलको दरले कम्पनीको वास्तविक लाभांशलाई प्रतिनिधित्व गर्दैन । तर, यसले धेरै हदसम्म कम्पनीको वित्तीय स्वास्थ्य प्रस्ट्याउन सघाउँछ । सेयर लगानीकर्तालाई पनि यो अनुपातले कम्पनीको छनोट गर्न मद्दत पुर्याउछ । नेटवर्थको आधारमा तयार हुने भए पनि यो तथ्याङ्कले कुनै कम्पनीलाई बढी वा घटी मुनाफा बाँड्ने सहजता कति छ भनेर थाहा पाउन सकिन्छ । आरओईको आधारमा बैङ्कहरूबिच उछिनपाछिन देखिएको छ ।
समीक्षा अवधिमा आरओईको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क पहिलो स्थानमा छ । बैङ्कले खुद सम्पत्तिको २१.१७ प्रतिशत प्रतिफल दिन सक्ने नाफा कमाएको हो । गत वर्ष बैङ्कले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छ । समीक्षा अवधिसम्ममा बैङ्कसँग २० अर्ब १७ करोड ७३ लाख रुपैयाँ खुद सम्पत्ति छ ।
सेयर प्रतिफल दरका आधारमा एनआईसी एशिया बैङ्कको दोस्रो पोजिशनमा छ । दुई वर्ष सेयर धनीहरूको हात रित्तो बनाएको एनआईसीसंग २९ करोड ६५ करोड १२ लाख रुपैयाँ बढी खुद सम्पत्ति छ । बैङ्कले खुद सम्पत्तिको प्रतिशत १८.६१ नाफा कमाएको छ । गत वर्ष बैङ्कले ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको हो ।
आरओईको आधारमा तेस्रो स्थानमा भने सानिमा बैङ्क देखिएको छ । अघिल्लो वर्ष आठौँ स्थानमा रहेको सानिमाले गत वर्ष भने फड्को मारेको हो । गत वर्ष बैङ्कले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैङ्कको खुद सम्पत्ति १९ अर्ब ३७ करोड ७० लाख रुपैयाँ छ । बैङ्कको खुद सम्पत्तिको १५.६३ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएको हो ।
अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको एभरेष्ट बैङ्क भने चौथो नम्बरमा पुगेको छ। बैङ्कले खुद सम्पत्तिको १५.३५ प्रतिशत प्रतिफल दिन सक्ने सामर्थ्य बनाएको छ । गत वर्ष बैङ्कले ३ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ। बैङ्कसँग २५ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बढीको खुद सम्पत्ति देखिएको छ ।
यस्तै, नबिल बैङ्क आरओईको आधारमा पाँचौँ सूचीमा छ । ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको बैङ्कसँग ५८ अर्ब ८ करोड ८८ लाख रुपैयाँ खुद सम्पत्ति छ । बैङ्कले खुद सम्पत्तिको १४.८९ प्रतिशत प्रतिफल दिन सक्ने सामर्थ्य बनाएको हो ।
अघिल्लो वर्ष तेह्रौँ र चौंधौं स्थानमा रहेका सिद्धार्थ र ग्लोबल आइएमई बैङ्कले पनि सेयर प्रतिफल दर क्रमशः बढाउँदै आएका छन् । गत वर्ष आई पुग्दा सिद्धार्थ बैङ्क १३औँ बाट छैटौँ नम्बरको सूचीमा आएको छ । सिद्धार्थसँग खुद सम्पत्ति २५ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको १४.३२ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत छ । गत वर्ष बैङ्कले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, ग्लोबल आइएमई बैङ्कसँग ५८ अर्ब ६८ करोड २७ लाख रुपैयाँ खुद सम्पत्ति छ । बैङ्कले खुद सम्पत्तिको १४.१० प्रतिशत प्रतिफल दिन सक्ने क्षमता बनाएका छ । बैङ्कले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा नेपाल एसबिआइ बैङ्कको आरओई १३.७६ प्रतिशत छ । बैङ्कसँग १८ अर्ब ५३ करोड २५ लाख रुपैयाँ खुद सम्पत्ति छ । बैङ्कले गत वर्ष २ अर्ब २४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा एनएमबि बैङ्कको खुद सम्पत्ति २८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ छ । बैङ्कले खुद सम्पत्तिको १३.५३ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता बनाएको छ। गत वर्ष बैङ्कको खुद नाफा ३ अर्ब ४१ करोड ५ लाख रुपैयाँ छ ।
यस्तै, माछापुच्छ्रे बैङ्क अघिल्लो वर्ष पनि १०औँ स्थानमा रहेकोमा गत वर्ष पनि सोही स्थान कायम भएको छ । बैङ्कसँग खुद सम्पत्तिको १२.७९ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएको छ । बैङ्कको खुद सम्पत्ति १६ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ। गत वर्ष बैङ्कको खुद नाफा १ अर्ब ८५ करोड ११ लाख बढी छ ।
यस्तै, सिटिजनको आरओई ११.५९ प्रतिशत, नेपाल बैङ्कको १०.२९ प्रतिशत, हिमालयनको १०.०२ र राष्ट्रिय वाणिज्य बैङ्कको १०.०१ प्रतिशत रहेको छ।
एकल अंकको बिन्दुमा आधा दर्जन बैंकको आरओई
समिक्षा अवधिमा ६ वटा बैंकहरुको आरओई एकल अंंकमा छ । अघिल्लो वर्ष नवौं स्थानमा रहेको कुमारी बैंक भने खस्किएको छ । आरओईको आधारमा गत वर्ष कुमारीको २० अन्तिम सूचीमा पुगेको छ । बैंकसंग खुद सम्पत्तिको ५.६१ प्रतिशत प्रतिफल दिन सक्ने क्षमतामा छ । हाल बैंकको खुद सम्पत्ति ३६ करोड ८३ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समिक्षा अवधिमा लक्ष्मी सनराइजको आरओई ६.४० प्रतिशत, प्राइमको ८.६५ प्रतिशत, प्रभुको ९.१४ र कृषि विकास बैंकको ९.९६ प्रतिशत रहेको छ।
यता, खुद सम्पत्तिको आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई भने ७.९७ प्रतिशत कायम भएको छ । यी ६ वटा बैंकहरुले आफ्नो खुद नाफालाई नेटवर्थको १० प्रतिशत पनि कटाउन सकेको छैनन् ।
कुन बैंकको आरओई कति ?
