क्यानद्धारा 'नेसनल आईसीटी स्कलरसिप २०८०' को आवेदन खुल्ला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

क्यानद्धारा ‘नेसनल आईसीटी स्कलरसिप २०८०’ को आवेदन खुल्ला



काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ’नेसनल आईसीटी स्कलरसिप २०८० को लागी आवेदन खुल्ला गरेको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृद्धि प्रदान गर्दै आएको विदितै छा यो छात्रवृति काठमाण्डौको मैतीदेविमा रहि विगत दुइ दशकभन्दा बढि समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । उक्त छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृद्धि प्रदान गर्न लागिएको हो ।

’नेसनल आईसीटी स्कलरसिप २०८० मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृति र बाँकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृति प्रदान गरिनेछ । क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी को अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछना छात्रवृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रिय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०८० साल भदौ ३१ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ। छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०८० साल असोज ७ गते हुनेछ भने २०८० साल असोज १० गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।

यस छात्रवृत्ती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा÷ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले व्यक्त गरे ।

यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक–निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताए ।


प्रतिक्रिया दिनुहोस्