४८ प्रतिशतले बढ्याे बीमा कम्पनीकाे कर्जा लगानी: निर्जीवनभन्दा जीवन बीमा अगाडि, कुनको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

४८ प्रतिशतले बढ्याे बीमा कम्पनीकाे कर्जा लगानी: निर्जीवनभन्दा जीवन बीमा अगाडि, कुनको कति ?



काठमाडौं । बीमा कम्पनीहरूको दीर्घकालीन लगानी तथा कर्जा वृद्धि भएको छ। गत वर्ष कम्पनीहरूको यस्तो लगानी तथा कर्जा उच्च दोहोरो अङ्कमा वृद्धि भएको हो । 

सञ्चालनमा रहेका २८ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष दीर्घकालीन लगानी तथा कर्जा ४८ प्रतिशतले बढाएका हुन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो । 

हाल १४ वटा जीवन र १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । ती कम्पनीहरूले गत वर्ष ४ खर्ब ८३ अर्ब ५५ करोड ११ लाख दीर्घकालीन लगानी तथा कर्जा परिचालन गरेका छन् । तर, अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीहरूको यस्तो लगानी तथा कर्जा ३ खर्ब २६ अर्ब ६० करोड ५१ लाख  रुपैयाँ रहेको थियो । एक वर्षमै कम्पनीहरूको यस्तो लगानी १ खर्ब ५६ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ वृद्धि गरेका हुन् । 

यस्तो लगानी तथा कर्जा परिचालनमा निर्जीवन भन्दा जीवन बीमा कम्पनी अगाडि देखिएका छन् । वृद्धिदरमा पनि जीवन बीमा कम्पनी अघि देखिएका छन् । समीक्षा अवधिमा जीवन बीमा कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा परिचालन ४८.७७ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको समीक्षा अवधिमा कम्पनीहरूले ३ खर्ब १७ अर्ब ४० करोड २७ लाख रुपैयाँ लगान तथा कर्जा परिचालन गरेका थिए । यता, निर्जीवन बीमा कम्पनीले भने गत वर्ष यस्तो लगानी तथा कर्जा परिचालन २३.१४ प्रतिशतले बढाएर ११ अर्ब ३३ करोड २६ लाख रुपैयाँ पुर्‍याएका छन् । 

जीवन बीमा तर्फ नेपाल लाइफ अगाडी: एलआईसी दोस्रो र हिमालयन लाइफ तेस्रो स्थानमा 

दीर्घकालीन लगानी तथा कर्जा परिचालनका आधारमा नेपाल लाइफ अगाडि देखिएको छ । गत वर्ष नेपाल लाइफ एक्लैले १ खर्ब ३२ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानी तथा कर्जा परिचालन गरेको छ । जुन, अघिल्लो वर्षको तुलनामा ६८.३४ प्रतिशतले बढी हो । अघिल्ला वर्ष कम्पनीले ७८ अर्ब ६३ करोड २९ लाख रुपैयाँ लगानी तथा कर्जा परिचालन गरेको थियो । 

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले पनि यस्तो लगानी तथा कर्जा २३.२७ प्रतिशतले बढाएर ८१ अर्ब ९३ लाख रुपैयाँ पुर्‍याएको छ ।  तेस्रो स्थानमा रहेको हिमालयन लाइफले पनि ५५.४२ प्रतिशतले वृद्धि गरी ४६ अर्ब २३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ।  

यस्तो दीर्घकालीन लगानी तथा कर्जा परिचालन वृद्धिदरमा भने सानिमा रिलायन्स लाइफ पहिलो सूचीमा छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १७४.३० प्रतिशतले वृद्धि गरी ११ अर्ब २८ करोड ७१ लाख रुपैयाँ पुर्‍याएको छ।  

वृद्धिदरमा दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले यस्तो लगानी तथा कर्जा  १४५.८० प्रतिशतले बढाएर ३१ अर्ब ९ करोड ७५ लाख रुपैयाँ पुर्‍याएको छ । 

लगानी तथा कर्जा परिचालनमा सानिमा जिआईसीको फड्को, सिद्धार्थ प्रिमियर दोस्रो, ५ कम्पनीको घट्यो 

निर्जीवन बीमा कम्पनीकर्ता दीर्घकालीन लगानी तथा कर्जा लगानीमा सानिमा जिआईसीले फड्को मारेको छ । अघिल्लो वर्षको तुलनामा सानिमा जिआईसीले यस्तो लगानी तथा कर्जा परिचालन ५.५५ गुणाले बढाएर  १६ करोड १३ लाख रुपैयाँ पुर्‍याएको छ । 

वृद्धिदरको आधारमा दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्ष १ अर्ब ३७ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २३३.२१ प्रतिशतले बढी हो । 

रकमका आधारमा भने राष्ट्रिय बीमा कम्पनी अगाडि देखिएको छ।  गत वर्ष कम्पनीले १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । कम्पनीले यस्तो लगानी तथा कर्जा एक वर्षमै १३.५० प्रतिशतले बढाएको हो । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ३१ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले १ अर्ब २० करोड ३५ लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा परिचालन गरेका छ । यद्यपि, शिखरको भने अघिल्लो वर्षको तुलनामा ४.५३ प्रतिशतले कमी हो । 

गत वर्ष यस्तो लगानी तथा कर्जा ओरियण्ट इन्स्योरेन्सको सर्वाधिक गिरावट देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ  रहेको थियो । तर, गत वर्ष भने ३६.०८ प्रतिशतले घटेर १ अर्ब १ करोड ३४ लाख रुपैयाँ सीमित भएको छ। 

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको दीर्घकालीन लगानी तथा कर्जा परिचालन ८.९६ प्रतिशत, नेशनलको ३.९७, र एनएलजीको सामान्य ०.५५ प्रतिशतले घटेको छ । 

गत वर्ष यस्तो लगानी तथा कर्जा परिचालन हिमालय एभरेष्टले १६.२१ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ८५.४१ प्रतिशत, नेकोको ६५.५९, युनाईटेड अजोडको ९१.७७ प्रतिशतले वृद्धि भएको छ। 


प्रतिक्रिया दिनुहोस्