नेपालले निर्यात गर्ने सिमेन्टको उकालो यात्रा, एक महिनामै साढे २३ करोडको बेच्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालले निर्यात गर्ने सिमेन्टको उकालो यात्रा, एक महिनामै साढे २३ करोडको बेच्यो



काठमाडौं । पछिल्लो समय नेपालले निर्यात गर्ने सिमेन्ट बढ्दो क्रममा नै छ । एक महिनामै साढे २३ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । भन्सार विभागले हालसालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो । 

साउनमा नेपालबाट २३ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । सो महिनामा ३५ हजार ३१५ टन सिमेन्ट नेपालले निर्यात गरेको हो । विभागका अनुसार सिमेन्ट र क्लिङ्कर गरी सो बराबरको निर्यात भएको जनाएको छ ।  गत आवको साउनमा भने ४९ लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट निर्यात भएको थियो । 

पछिल्लो समय सिमेन्टको बढ्दो निर्यातले उद्योगीहरूलाई राहत पुगेको छ । आर्थिक  मन्दीको मारमा परेका उद्योगीहरूलाई यसरी सिमेन्टको निर्यात बढ्दा राहत पुगेको व्यवसायीहरू बताउँछन् । एक उद्योगीले भने,–‘मन्दीका कारण स्वदेशी माग घटिरहेको छ । सरकारले भुक्तानी नदिने, मूल्यवृद्धि लगायतका कारण निर्माण क्षेत्रमा मन्दी नै छ । सिमेन्ट उद्योगहरूको व्यवसाय प्रभावित भइरहेको बेलामा बढ्दो निर्यातले भने सिमेन्ट उद्योगहरूलाई केही राहत दिएको हो ।’

विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा थप टेवा पुगेको देखिन्छ । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् । 

नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । बिशेषगरि भारतको विहार र उत्तर प्रदेशमा नेपाली सिमेन्टको माग बढ्दै गएको छ । त्यहाँका ग्राहकहरू नेपाली सिमेन्टको गुणस्तर प्रति सन्तुष्ट पनि छन् । त्यसले गर्दा निर्यात बढेको उद्योगीहरूको भनाइ छ । आगामीमा दिनमा सिमेन्टको निर्यात अझै बढ्ने उद्योगीहरू बताउँछन् ।

‘नेपालमा उत्पादन पनि निरन्तर बढी रहेको अवस्था छ । नेपाली उद्योगहरू चलायमान हुन थालेका छन् । यसमा सरकारले थप सहयोग गर्नुपर्छ’–एक व्यवसायीले भने । नेपाली सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन सकिएमा निकै सम्भावना रहेको बताइन्छ । सिमेन्ट निर्यात नेपालको विदेशी मुद्रा आर्जनको एउटा महत्त्वपूर्ण क्षेत्र बन्न सक्ने उद्योगीहरू बताउँछन् । 

गत वर्षभर नै कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको ६ लाख ७ हजार ७३ टन  सिमेन्ट नेपालले निर्यात गरेको थियो । जुन, अघिल्लो आवको तुलनामा २.४२ गुणाले बढी हो । अघिल्लो आवमा ३२ करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको ३ लाख ९६ हजार ९५० टन सिमेन्ट नेपालबाट निर्यात भएको थियो । 

निर्यातको तुलनामा आयात एकदमै न्यून छ । निर्यात बढ्दै गर्दा सिमेन्टको आयात भने घटेको छ । साउनमा ४ करोड ९६ लाख रुपैयाँ बराबरको २ हजार ८७७ टन सिमेन्ट आयात भएको देखिन्छ । 

समीक्षा वर्षमा सिमेन्ट आयात ५६.३४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवमा ६८ करोड ९३ लाख ५३ हजारको सिमेन्ट आयात भएको थियो । तर, गत आवमा ३० करोड ९ लाख रुपैयाँको सिमेन्ट आयात भएको थियो । पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । विदेशी लगानीमा बन्दै गरेको केही आयोजनाहरूले मात्रै विदेशी सिमेन्ट आयात गर्ने गर्छन् । अहिले स्वदेशी मागलाई स्वदेशी उत्पादनले नै धान्ने अवस्था भएको छ । जसले आयात समेत घट्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्