नाफामा गरिमा र मुक्तिनाथको अग्रताः कामना, लुम्बिनी र महालक्ष्मीको प्रतिस्पर्धा, ज्योतिलाई पछ्याउदैं सांग्रिला

काठमाडौं । नाफामा गरिमा विकास बैंकले अग्रता लिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनमा गरिमा सबैभन्दा धेरै नाफा कमाएको हो । एक महिनामै गरिमा २४ करोड ९५ लाख रुपैयाँ बढी नाफा कमाएको छ । जुन अन्य राष्ट्रिय स्तरका विकास बैंकहरुको तुलनामा धेरै हो ।
नेपाल राष्ट्र बैंकहले हालै सार्वजनिक गरेको गत साउन महिनाको बैंक तथा वित्तीय संस्थाको मासिक तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले भने कुल ८४ करोड २१ लाख रुपैयाँ नाफा गरेका हुन् । सो नाफामा सबैभन्दा धेरै गरिमा विकास बैंकको देखिएको हो ।
नाफाका रकमका आधारमा भने मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा छ । प्राय: नाफा लगायतका सूचकको आधारमा पहिलो मानिने मुक्तिनाथ गत साउनमा भने दोस्रो पोजिशनमा देखिएको हो । गत साउनमा बैंकले १६ करोड ८० लाख रुपैयाँ नाफ आर्जन गरेको छ ।
यता, नाफाका आधारमा कामना सेवा विकास बैंक भने तेस्रो सूचीमा छ । बैंकले एक महिना अर्थात् गत साउनमा ८ करोड १३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कामना सेवा, लुम्बिनी र महालक्ष्मी विकास बैंकको नाफा करिब करिब बराबरी जस्तो देखिएको छ । यद्यपि, ती बैंकभन्दा कामना अघि छ ।
यस्तै, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैैंकले पनि ७ करोड ९१ लाख रुपैयाँ ५० हजार रुपैयाँ नाफा कमाएको हो । महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।
मुख्य सूचकहरुमा अब्बल कहलिँदै आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा पनि ७ करोड माथि नै छ । गत साउनमा शाइन रेसुङ्गाले ७ करोड १९ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो ।
यस्तै, ज्योति विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड६५ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।