लुम्बिनी प्रदेशः वैदेशिक रोजगारीमा रहेका ४८ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध
कामठाडौँ । लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीमा संलग्न ४८ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा बैंदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
स्थलगत सर्वेक्षणका आधारमा वैदेशिक रोजगारीमा संलग्नको ५२ प्रतिशत घर परिवार अझै बीमाको पहुँच बाहिर रहेको अध्ययनले देखिएको छ । यस अध्ययन अनुसार अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको देखिन्छ ।

शारीरिक सबलताको सूचक मानिने स्वास्थ्य सेवाको पहुँच मापन गर्दा वैदेशिक रोजगारीमा संलग्न श्रमिक तथा पारिवारिक सदस्यहरुको स्वास्थ्य सेवाको पहुँच कस्तो छ भन्ने सन्दर्भमा नमूना छनौटमा परेका परिवारमध्ये ११.० प्रतिशतलेनिजी क्लिनिकबाट मात्र स्वास्थ्य सेवा लिने गरेको, १२.० प्रतिशतले सरकारी स्वास्थ्य केन्द्रबाट सेवा लिने गरेको तथा ७७.० प्रतिशतले दुवै सेवा केन्द्रबाट सेवा लिने गरेको छ । सरकारी सेवा केन्द्रबाट प्रदान हुने स्वास्थ्य सेवामा आम मानिसहरुको विश्वास बढेको देखिएको छ ।

स्वास्थ्य बीमाको जिल्लागत विश्लेषण गर्दा अध्ययनमा समेटिएका जिल्लाहरुमध्ये गुल्मी जिल्लामा सबैभन्दा धेरै ६९.२३ प्रतिशत आबद्धता देखिएको छ । सबैभन्दा कम रोल्पामा २१.०५ प्रतिशत देखिएको छ । यसैगरी, नमूना सर्वेक्षणअनुसार पाल्पा, अर्घाखाँची र रुपन्देही जिल्लामा बीमाको आबद्धता क्रमशः ६७.६९ प्रतिशत, ५७.८९ प्रतिशत र ३५.९७ प्रतिशत रहेको छ ।














