अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख गर्नुपर्ने, यस्तो आयो नयाँ निर्देशिका
काठमाडौँ । अब बीमा कम्पनीहरूले आफ्नो वित्तीय विवरणमा वितरणयोग्य नाफा लगायत सूचकहरू समावेश गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
प्राधिकरणका अनुसार यो व्यवस्था आर्थिक वर्ष २०७९।८० देखि नै लागू हुने प्राधिकरणले जनाएको छ । निर्देशिका अनुसार अब बीमा कम्पनीहरूले आफ्नो वित्तीय विवरणमा फाइनान्सियल स्टेटमेन्टको पोजिसन, नाफा नोक्सान, इक्विटी परिवर्तन, क्यास फ्लस, वितरणयोग्य मुनाफा जस्ता सूचकहरू समावेश गर्नुपर्नेछ । प्राधिकरणले भन्यो,– ‘बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशनलाई समय सापेक्ष परिमार्जन गरी अघिल्लो असोजबाट लागू हुनेगरि नयाँ निर्देशिका, २०८० जारी गरिएको छ । उक्त निर्देशन आव २०७९।८० देखि नै लागू हुने हो । त्यसपछि वित्तीय विवरणहरू पनि सोही निर्देशन बमोजिम तयार पारि प्राधिकरण पेस गर्नुपर्छ ।’
अब जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा र लघु बीमा कम्पनीहरूले वित्तीय विवरण पेस गर्दा प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्नेछ । अर्थात् लघु बीमा कम्पनीले पनि ठुला बीमा कम्पनीले सरह नै वित्तीय विवरण तयार गर्नुपर्नेछ । तर, सहायक कम्पनी भएकाहरूले सम्बन्धित कम्पनीले कन्सोलिडेड वित्तीय विवरणको ढाँचामा हिसाब किताब समेटेर विवरण तयार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बीमकले वित्तीय विवरण (स्ट्याण्डअलन फाइनान्सियल स्टेटमेन्ट) र उपदफा (३) बमोजिमको वित्तीय विवरण (कन्सोलिडेटेड फाइनान्सियल स्टेटमेन्ट) लाई बीमकले छुट्टाछुट्टै देखिने गरी एकै वित्तीय विवरणमा प्रस्तुत गर्न सक्नेछ । तर, वित्तीय विवरण ढाँचामा कुनै परिवर्तन, परिमार्जन वा संशोधन गर्न भने पाउने छैन ।
प्राधिकरणमा पेस गर्नुपर्ने वित्तीय विवरणसँग विस्तृत लेखापरिक्षण प्रतिवेदन (लङ्ग फर्म अडिट रिपोट) सहित लेखा परीक्षकको प्रतिवेदन संलग्न गर्नुपर्ने छ । प्राधिकरणमा पेस भएको वित्तीय विवरण अध्ययन तथा विश्लेषण गरी प्राधिकरणले स्वीकृत दिन वा निर्देशन, सर्त तथा आदेशसहित स्वीकृति दिन वा त्यस्ता विवरणमा गम्भीर त्रुटि देखिएमा परिमार्जनसहित पुस्न पेस गर्न निर्देशन दिनेछ । परिमार्जन सहित पुनः पेस गर्न प्राधिकरणले निर्देशन दिएको १५ दिनभित्र बीमा कम्पनीले स्वीकृतिको लागि पेस गर्नुपर्नेछ । प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत गर्दा तोकेका सर्त तथा दिइएका आदेश बीमा कम्पनीका सञ्चालक समितिको जवाफ संलग्न गरी वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
यस्तै, बीमकले प्रत्येक वर्ष लेखापरिक्षण भई प्राधिकरणबाट स्वीकृत भएको वित्तीय विवरण संक्षिप्त विवरण कम्तीमा दुई पटक राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट प्रकाशन गर्नुपर्नेछ ।













