कामना सेवा विकास बैंकको नाफा झण्डै तीन गुणाले बढ्यो, पहिलो त्रैमासमा देखियो प्रगति

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा झण्डै तीन गुणाले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा बैंकको नाफा २.८७ गुणाले बढाएको हो ।
बैंकले शुक्रबार प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा १८७.५८ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै घटेको छ । सो चार्ज घटेपछि संचालन नाफा बढेको छ । इम्पेयरमेन्ट चार्ज घट्नु र संचालन नाफा बढ्नुले नै बैंकको खुद नाफा वृद्धिमा टेवा पुगेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्षको पहिलो त्रैमासमा २५ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको थियो । तर, यस वर्षको सोही अवधिमा आईपुग्दा भने यस्तो चार्ज ९ करोड ५२ लाख ४१ हजार रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा बैंकको संचालन नाफामा पनि तीन गुणा अर्थात २०३.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकको गत वर्षको पहिलो त्रैमासमा ५करोड ९३ लाख ७३ हजार रुपैयाँ संचालन नाफा गरेको थियो । तर, यस वर्षको सोही अवधिमा भने यस्तो नाफा १८ करोड रुपैयाँ पुगेको छ ।
तर, बैंकको खुद ब्याज आम्दानी पनि सामान्य घटेको देखिएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ६ प्रतिशतले घटेर ४९ करोड ९ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन पनि दोहोरो अंकले वृद्धि भई ५४ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ४३ अर्ब ५१ करोड २२ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा पनि नियन्त्रणमै देखिएको छ । असोज मसान्तसम्म बैंकको यस्तो कर्जा ३.४८ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ २८ पैसाले वृद्धि भई १४ रुपैयाँ ५७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ ।