लाभांश घोषणाको तयारीमा नबिल, ग्लोबल आइएमई र एनएमबिसहित १४ वटा बैंक, कसले कति दिन सक्छन् ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

लाभांश घोषणाको तयारीमा नबिल, ग्लोबल आइएमई र एनएमबिसहित १४ वटा बैंक, कसले कति दिन सक्छन् ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सञ्चालनमा रहेकामध्ये हालसम्म ६ वटा बैङ्कहरूले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

हालसम्म माछापुच्छ्रे बैङ्क, सिटिजन, एभरेष्ट, एनआईसी, सानिमा र सिद्धार्थ बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । यीमध्ये कतिपय बैङ्कहरूले लाभांश पारित गरी सेयरधनीहरुको खातामा समेत पठाइसकेका छन् । 

गत आवको मुनाफाबाट माछापुच्छ्रे बैङ्कले आफ्ना सेयरधनीलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

यस्तै, सिटिजन बैङ्कले आफ्ना सेयरधनीलाई ५.७९ प्रतिशत, सानिमाले १४.७० प्रतिशत, एनआईसी एशियाले ३०.५२ प्रतिशत, एभरेष्टले २०.५३ प्रतिशत र सिद्धार्थ बैङ्कले ४.४१ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । 

यी बाहेकका अन्य बैङ्कहरूले पनि अब छिट्टै नै आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारीमा छन् । लाभांश घोषणा गर्न अब १४ बैङ्कहरू बाँकी छन् । तीमध्ये नबिल बैङ्क, ग्लोबल आइएमई, एनएमबि, कुमारी, नेपाल एसबिआई बैङ्क र स्ट्याण्डर्ड चार्टर्ड बैङ्क पनि अन्तिम तयारीमा छन् । यी बैङ्कहरूले तिहारसम्ममा नै लाभांश घोषणाको तयारी गरेका हुन् । 

लाभांश क्षमताका आधारमा नबिल बैङ्कले यस वर्ष आफ्ना सेयरधनीहरुलाई १४.६३ प्रतिशत रहेको छ । गत आवमा नबिल बैङ्कले ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ । हाल बैङ्कको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

यस्तै, यो वर्ष ग्लोबल आइएमई बैङ्कले ८.२६ प्रतिशत लाभांश बाँड्न क्षमता बनाएको छ । गत आवमा बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ छ । हाल बैङ्कको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । यसकै आधारमा बैङ्कले सो बराबरको मात्रामा लाभांश वितरण गर्न सक्नेछन् । 

त्यसैगरि एनएमबि बैङ्कले पनि यो वर्ष ८.१७ प्रतिशत लाभांश बाँड्ने सामर्थ्य बनाएको छ । गत आवमा बैङ्कले १ अर्ब ५० करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैङ्कको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । वितरणयोग्य नाफा र चुक्ता पुँजीको आधारमा नै यो वर्ष बैङ्कले ८.१७ प्रतिशत लाभांश दिन सक्नेछ । 

यता, कुमारी बैङ्क भने लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएको छ । गत वर्ष बैङ्कको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । बैङ्कको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । 

यस्तै, यो वर्ष हिमालयन बैङ्क पनि लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएको छ । गत वर्षको बैङ्कको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । 

गत वर्षको वितरणयोग्य मुनाफाका आधारमा प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क र प्राइम कमर्सियल बैङ्क पनि लाभांश वितरण गर्न नसक्ने दबाबमा देखिएका हुन् । 

लाभांश घोषणाको तयारीमा रहेको नेपाल एसबिआईले भने यो वर्ष आफ्ना सेयरधनीलाई १३.९३ प्रतिशत दिन सक्नेछन् ।  यस्तै, गत वर्षको मुनाफाबाट कृषि विकास बैङ्कले १४.९२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले ११.५९ प्रतिशत, लक्ष्मी सनराइजले ८.९४ प्रतिशत, नेपाल बैङ्कले ६.६२ प्रतिशत लाभांश बाँड्न सक्ने सामर्थ्य बनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्