क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकार अपराधीलाई दण्डित गर्न तयार भएनः विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद विष्णु प्रसाद पौडेलले दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकार अपराधीलाई दण्डित गर्न तयार नभएको बताएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले तस्करी भएको सुनलाई समेत सरकारले राज्य कोषमा दाखिला गर्न नसकेको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिएको बताए
त्यस्तै पौडेलले फागुन १ गते दिईएको जनयुद्ध दिवसको विदाबारे आलोचना गरेका छन् । उनले भने,‘फागुन १ गतेलाई जस्म मनाएर, दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सवलीकरण हुन सक्दैन् । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन् भन्ने मलाई लाग्छ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ, उसलाई यो ठीक हो भन्ने लाग्छ भने म सरकारलाई चूनौतिका साथ भन्न चाहन्छु–सरकारले फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस । त्यो आँट छ सरकारसँग ? नेपाली जनताले त्यसकाबारेमा निर्णय दिनेछन् ।’
पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाए ।













