खस्किदैं एनआइसी एशिया, नाफाबाट ७४ करोड गायब, वितरण योग्य नाफा पनि ऋणात्मक

काठमाडौँ । एनआइसी एशिया बैङ्कको नाफा खस्किएको छ । बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मुनाफामा गिरावट आएको हो ।
असोज मसान्तसम्ममा बैङ्कको मुनाफा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कम्पनीको ७४ करोड ६३ लाख रुपैयाँ गायब भएको छ ।
यस अवधिमा बैङ्कको खराब कर्जा बढेपछि खुद नाफा प्रभावित बनेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानीमा १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ छ । गत आवमा भने बैङ्कको उक्त आम्दानी ३ अर्ब ३३ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३८.९४ प्रतिशतले घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ०.५९ प्रतिशत बाट बढेर १.३७ प्रतिशत प्रतिशत, रिजर्भ कोष १३.४२ प्रतिशतले बढेर १६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रतिसेयर आम्दानी ३३.०४ रुपैयाँले घटेर २६.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्क २०२.०५ रुपैयाँ रहेको छ ।