बैंकहरुको नाफा घट्दा सरकारलाई पनि संकट, डेढ अर्बले घट्यो बैंकले तिर्ने कर, नबिल र एनआइएमबिले तिरे धेरै

काठमाडौं । वाणिज्य बैङ्कहरूले सरकारलाई तिर्ने आयकर पनि दोहोरो अङ्कले घटेको छ । बैङ्कहरूको नाफामा सङ्कुचन आएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि २२.७४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैङ्कहरूले सरकारलाई ६ अर्ब ७ करोड १६ लाख ८५ हजार रुपैयाँ आयकर तिरेका छन् । तर, यो गत वर्षको पहिलो त्रैमासको तुलनामा भने १ अर्ब ७८ करोड ६७ लाख रुपैयाँले कमी हो । गत आवको असोज मसान्तसम्ममा बैङ्कहरूले आफ्नो नाफा र आम्दानीबाट सरकारलाई कुल ७ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आयकर बुझाएका थिए ।
बैङ्क तथा वित्तीय संस्थाहरूले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ । बैङ्कहरूले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्यापछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रावधान छ ।
समीक्षा अवधिमा बैङ्कहरूको नाफा १८.६० प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा बैङ्कहरूले १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, यस वर्षको पहिलो त्रैमासमा भने घटेर १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । विशेषगरि बैङ्कहरूको खराब कर्जा बढेकाले नाफामा असर परेको हो । पहिलो त्रैमासमा बैङ्कहरूले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्ट्याएका छन् ।जसले नाफा प्रभावित बनेको छ ।
बैङ्कहरूको नाफा घटेसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको हो । आर्थिक मन्दीका कारण बैङ्कहरूले प्रवाह गरेको कर्जा समयमा उठ्न सकेको छैन । साँवा र ब्याज समयमा नउठ्दा बैङ्कहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । आर्थिक शिथिलताले बैङ्कहरूको कर्जा असुल पूर्ण रूपमा भएको छैन । जसले बैङ्कहरूको खराब कर्जा पनि बढ्दो छ । खराब कर्जाले बढेपछि नै बैङ्कहरूको नाफा पनि प्रभावित बनेको छ । यसको असर बैङ्कहरूबाट सरकारले पाउने आयकरमा परेको हो ।
पहिलो त्रैमासमा अधिकांश बैङ्कहरूको आयकर घटेको छ । सञ्चालनमा रहेकामध्ये ११ वटा बैङ्कको आयकरमा गिरावट आएको हो ।तीन महिनामा सबैभन्दा धेरै आयकर बुझाउनेमा नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) रहेका छन् ।
पहिलो त्रैमासमा नबिल बैङ्कले सरकारलाई ६७ करोड ८८ लाख रुपैयाँ आयकर बुझाएका छ । योसँगै वाणिज्य बैङ्कमध्ये सबैभन्दा धेरै आयकर बुझाउने बैङ्क बनेको छ । यद्यपि, गत आवको पहिलो त्रैमासको तुलनामा भने सामान्य मात्रै बढी हो । नबिलको नाफामा भने ६.५ प्रतिशतको गिरावट आएको छ । नाफा घटेसँगै आयकर पनि घट्न पुगेको हो ।
तर, एनआइएमबिको आयकर भने ३४.८७ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा बैङ्कले सरकारलाई ४८ करोड ८८ लाख रुपैयाँ मात्रै आयकर बुझाएका थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने थप १७ करोड ५ लाख रुपैयाँले बढाएर कुल ६५ करोड ९३ लाख रुपैयाँ आयकर तिरेको छ । पहिलो त्रैमास सर्वाधिक नाफा कमाउनेको पहिलो सूची एनआइएमबि छ । नाफा ३३.४६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ पुगेको छ। नाफा बढेपछि सरकारलाई तिर्ने आयकरमा पनि बढोत्तरी देखिएको हो ।
समीक्षा अवधिमा आयकर वृद्धिमा भने हिमालयन बैङ्क पहिलो सूचीमा छ । बैङ्कले गत वर्षको तुलनामा ९८.३१ प्रतिशतले बढाएर सरकारलाई ४५ करोड २६ लाख रुपैयाँ आयकर बुझाएको छ । बैङ्कको नाफा पनि ९८.३५ प्रतिशतले नै बढेर १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ । नाफा बढेकाले नै आयकर वृद्धि भएको हो ।
समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले पनि सरकारलाई ५५ करोड ३६ लाख, प्राइमले ४९ करोड ३४ लाख, एनएमबिले ४१ करोड २८ लाख, प्रभु बैङ्कले ३६ करोड ८४ लाख, माछापुच्छ्रेले २३ करोड २३ ला, स्ट्याण्डर्ड चार्टर्डले ३५ करोड ४७ लाख रुपैयाँ आयकर बुझाएका छन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कले ३६ करोड ८४ लाख, सानिमाले १९ करोड १८ लाख, कुमारीले १७ करोड ४३ लाख, सिटिजनले १७ करोड २४ लाख, लक्ष्मी सनराइजले ४ करोड ४१ लाख र सिद्धार्थ बैङ्कले २ करोड ७५ लाख रुपैयाँ मात्रै आयकर तिरेका छन् ।
तर, कृषि विकास बैङ्क र नेपाल बैङ्कको आयकर भने ऋणात्मक छ । समीक्षा अवधिमा कृषि विकासले सरकारलाई तिर्ने आयकर १ करोड ५१ लाख रुपैयाँ र नेपाल बैङ्कको ३ करोड ८४ लाख रुपैयाँ ऋणात्मक देखिएको हो । पहिलो त्रैमासमा कृषि विकास बैङ्कको नाफा पनि ऋणात्मक छ । नेपाल बैङ्कको पनि घटेको छ । नाफा प्रभावित बनेपछि नै यी दुई बैङ्कले सरकारलाई बुझाउने आयकर पनि ऋणात्मक बन्न पुगेको हो ।