शिखर इन्स्योरेन्सले तीन महिनामा कमायो ११ करोड २४ लाख नाफा, बीमा कोषको आकार झन्डै ५ अर्ब
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ११ करोड बढी नाफा कमाएको छ । कम्पनीले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा कम्पनीले ११ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको सोही अवधिमा पनि कम्पनीले ११ करोड ९ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको खुद नाफा वृद्धिदर भने सामान्य देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी पनि ७९ करोड ४४ लाख ९१ हजार रुपैयाँ छ । जुन गत आवको तुलनामा ४ करोड ८ लाख ३० हजार रुपैयाँले बढीले हो । कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ५.४१ प्रतिशतले मात्रै बढेको हो । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीको यस्तो आम्दानी ७५ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको तीन महिनामा कम्पनीको खुद बीमा शुल्क आम्दानी भने २७ करोड ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै, समीक्षा अवधिमा कमिसन आम्दानी १५ करोड ६१ लाख, लगानी तथा ऋणबाट ११ करोड ७२ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी भने ५६ करोड २२ लाख ९२ हजार देखिएको छ । यस्तै, कम्पनीले अभिकर्ता कमिसनका लागि २ करोड ७८ हजार खर्चिएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ पुगेको छ। यस्तै, महाविपत्ति जगेडामा कोषमा १४ करोड ८८ लाख ७१ हजार, विशेष जगेडा कोषमा १ अर्ब ५६ करोड ७८ लाख ७० हजार रुपैयाँ राखेको छ। यता, कम्पनीको बीमा कोषको आकार पनि ४ अर्ब ९३ करोड ९० लाख ८० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ ।













