९ श्रावण २०८३, शनिबार

निर्जीवन बीमा: नाफामा सिद्धार्थ प्रिमियर र नेपाल इन्स्योरेन्सले टप्यो, अन्य कुनले कति कमाए ?



काठमाडौँ । तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले ८९ करोड बढी खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेकामध्ये १३ वटा कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, हालसम्म भने नेको इन्स्योरेन्स कम्पनीले भने पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

नेको बाहेकका कम्पनीहरूले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा भने ११.६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूको यस्तो नाफा ७९ करोड ८० लाख ३३ हजार रुपैयाँ रहेको थियो । 

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा भने नेपाल इन्स्योरेन्सले कमाएका छ । समीक्षा अवधिमा कम्पनीको नाफा १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने २.३५ गुणाले (१३५.६२ प्रतिशतले) बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ६ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ । कम्पनीले चालु आवको तीन महिनामा १४ करोड बढी नाफा कमाएको हो । कम्पनीको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ७६.१४ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ७ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस्तै, धेरै नाफा कमाउनेको तेस्रो सूचीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले तीन महिनामै १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १५५.६० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले पनि ११ करोड २४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ५ करोड ७० लाख, हिमालयन एभरेष्टले ५ करोड ३८ लाख, एनएलजी इन्स्योरेन्सले ५ करोड १४ लाख र आइजीआई प्रुडेन्सियलले ५ करोड ११ लाख  रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरि युनाईटेड अजोडले ३ करोड ८६ लाख, सानिमा जिआईसीले ३ करोड ३७ लाख, ओरियण्टलले १ करोड ४९ लाख र  नेशनल इन्स्योरेन्सले ३७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्