जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदर ३३ प्रतिशत: सुर्यज्योति, सानिमा रिलायन्स र आइएमई लाइफ कसरी पुगे शीर्ष सूचीमा ?
काठमाडौँ । जीवन बीमा कम्पनीहरूको खुद नाफा औसत वृद्धिदर करिब ३३ प्रतिशत रहेको छ । कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८० पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आवको तीन महिनामा खुद नाफा ३२.८३ प्रतिशतले बढाएका छन् । गत आवको असोज मसान्तसम्ममा कम्पनीहरूले १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, चालु आवको पहिलो त्रैमासमा भने ४२ करोड ५१ लाख रुपैयाँले बढाएर १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ पुर्याएका छन् ।
नाफा वृद्धिदरको आधारमा भने राष्ट्रिय बीमा संस्थान (हालको राष्ट्रिय जीवन बीमा कम्पनी), सूर्यज्योति र सानिमा रिलायन्स लाइफ शीर्ष सूचीमा देखिएका छन् । पहिलो त्रैमासमा राष्ट्रिय बीमा संस्थानको नाफा ११.४० गुणा (१०४० प्रतिशत) ले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३६ लाख ८५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने ४ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।
वृद्धिदरको आधारमा दोस्रो स्थानमा भने सूर्यज्योति लाइफ छ । साबिकको सूर्या लाइफ र ज्योति लाइफ मिलेर बनेको यो कम्पनीले तीन महिनामा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको पहिलो त्रैमासको तुलनामा २६३.३२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीको खुद बीमा शुल्क आर्जन पनि उच्च दरमा वृद्धि भएकाले नै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६.७४ प्रतिशतले बढेर २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । सूर्यज्योतिको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि शतप्रतिशत वृद्धि भई ७३ करोड ९७ लाख रुपैयाँ बढी पुगेको छ ।
यता, तेस्रो सूचीमा रहेको सानिमा रिलायन्स लाइफले पनि १२८.३७ प्रतिशतले खुद नाफा बढाएको छ । गत आवको पहिलो त्रैमासमा ४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने कम्पनीले ११ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभिएर बनेको यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको पनि खुद बीमा शुल्क आर्जन, कर्जा तथा लगानीबाट हुने आम्दानीमा उल्लेख्य सुधार आएकाले नै नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६०.८७ प्रतिशतले बढेको छ । तीन महिनामा कम्पनीको यस्तो बीमा शुल्क १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ पुगेको हो । यस्तै, सो अवधिमा कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि १७२.७५ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ नाघेको छ ।
नाफा वृद्धिदरको चौथो सूचीमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल रहेको छ । कम्पनीले पहिलो त्रैमासमा खुद नाफा ८८.५४ प्रतिशतले बढाएर ५ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।
पाँचौँ स्थानमा भने आइएमई लाइफ देखिएको छ । कम्पनीले पहिलो त्रैमासमा १३ करोड ३ लाख बढी खुद नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ७६.२१ प्रतिशतले बढी हो । कम्पनीको खुद बीमा शुल्क आर्जन पनि दोहोरो अङ्क (२३.३२ प्रतिशत) ले वृद्धि भई १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा तथा लगानीबाट हुने आम्दानी पनि शतप्रतिशत बढेर ३१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा नै कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा (रकमको आधार) हिमालयन लाइफले कमाएको छ । तर, वृदिद्धरको आधारमा भने सातौँ सूचीमा छ । कम्पनीले तीन महिनामा २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा भने ३५.३७ प्रतिशतले बढी हो । यस्तै, प्रभु महालक्ष्मी लाइफको खुद नाफा पनि ५३.६२ प्रतिशत, एशियन लाइफको १४.९६ प्रतिशत र नेपाल लाइफको १०.२४ प्रतिशतले वृद्धि भएको छ ।
आधा दर्जन कम्पनीको नाफा वृद्धिदर एकल अङ्कमा
समीक्षा अवधिमा आधा दर्जन जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदर एकल अङ्कमा देखिएको छ । पहिलो त्रैमासमा मेट लाइफ, सिटिजन, रिलायवल नेपाल, सन नेपाल र नेशनल लाइफको नाफा वृद्धिदर १० प्रतिशत भन्दा कम छ ।
समीक्षा अवधिमा मेट लाइफको नाफा ४.८८ प्रतिशतले मात्रै बढेर ९ करोड २५ लाख रुपैयाँ पुगेको छ। यस्तै, सन नेपालको नाफा १.८० प्रतिशत, सिटिजनको १.५९ प्रतिशत, रिलायवलको नाफा १.०१ प्रतिशत र नेशनल लाइफको ०.२४ प्रतिशतले बढेको हो ।
कुन कम्पनीले कति कमाए ?














