खाने तेलको प्रशोधन गर्ने एबीसी आयल इन्डष्ट्रिजको व्यापार ९ गुणा बढ्यो, एक वर्षमै २१२ अर्बको कारोबार

काठमाडौं । एबीसी आयल इन्डष्ट्रिजको व्यापार ९ गुणा बढेको छ । कम्पनीले सञ्चालनमा आएको एक वर्षमै व्यापार उल्लेख्य वृद्धि गरेको हो ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले एक वर्षमै ८.९७ गुणा अर्थात् १ अर्ब ८९ करोड रुपैयाँ कारोबार वृद्धि गरेको हो ।
कम्पनीले सन् २०२२ को २ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२३ मा भने कम्पनीले कुल २ अर्ब १२ करोड ७० लाख बढीको व्यापार गरेको छ । यो वर्षको गरेको कुल व्यापारमा ७४ प्रतिशत भारत निर्यात गरिएको कम्पनीले जनाएको छ । यो वर्ष मात्रै कम्पनीले ५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै, कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ७ लाख रुपैयाँ डबल बी माइनस र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ । यो वर्ष (सन् २०२३ ) मा कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ९९ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले अघिल्लो वर्ष सन् २०२१ जुलाईबाट सञ्चालनमा आएको हो । व्यावसायिक रूपमा कारोबार भने २०२२ बाट थालनी गरेको थियो । हाल कम्पनीले कच्चा तेल प्रशोधन गर्दै आएको छ । यसको उद्योग प्लान्ट सुनसरीको दुहबीमा छ । कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ इन्डोनेसिया, मलेसिया, रसिया, युक्रेनबाट लगायतका विभिन्न मुलुकबाट आयात गर्दै आएको छ ।
कम्पनीका उद्योगको अध्यक्ष सञ्जय कोइराला हुन् । उनी दुई दशकदेखि तेलको व्यापार, साबुन उत्पादन तथा सामग्री प्याकेजिङमा संलग्न छन् । उद्योगको खाने तेल उत्पादन क्षमता भने वार्षिक ६० हजार टन छ । योमध्ये ३६ हजार टन कच्चा पाम आयल र १२ हजार टन सोयाबिन र सनफ्लावार तेल प्रशोधन गर्न सक्ने क्षमता छ ।