उल्टै घट्यो बीमाको पहुँच, अझै १ करोड ५४ लाख नेपाली बीमाको दायरा बाहिर
काठमाडौं । बीमा पहुँच एक महिनामै ०.४४ प्रतिशत बिन्दुले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बीमा पहुँच बढ्दै जानुपर्नेमा उल्टै घटेको हो ।
गत असोज मसान्तसम्म बीमाको पहुँच ४३.४२ प्रतिशत थियो । तर, कात्तिक मसान्तसम्म आउँदा त्यो ४२.९८ प्रतिशतमा झरेको छ । यो गत आवको सोही अवधिको भन्दा पनि कम हो । गत आवको सोही अवधिमा बीमा पहुँच ४३.७८ प्रतिशत थियो ।
म्यादी, लघु म्यादी, वैदेशिक रोजगार सहित बीमाको पहुँच यति पुगेको हो । तथ्यांकअनुसार म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बाहेक बीमाको पहुँच १७.४९ प्रतिशत छ । म्यादी र लघु म्यादी जीवन बीमालेख सहित भने ३७.१३ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ ।
अहिले म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बाहेकको बीमालेख सङ्ख्या ५६ लाख २२ हजार ४५९ रहेको छ । म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या भने ६३ लाख ११ हजार ६९३ रहेको छ । यसै गरी वैदेशिक रोजगार बीमालेखको सङ्ख्या १७ लाख ८५ हजार ५७३ रहेको छ । यसरी अहिले १ करोड ३७ लाख १९ हजार ७२५ जना नेपाली बीमाको पहुँचमा देखिन्छन् । गत आवको सोही अवधिमा भने १ करोड ३९ लाख ४२ हजार ३०९ जना नेपाली बीमाको पहुँचमा थिए ।
अहिले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, त्योअनुसार १ करोड ५४ लाख ४४ हजार ८५३ जना नेपाली बीमाको पहुँच भन्दा बाहिर रहेको देखिन्छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बीमा कम्पनीहरूको बीमालेख बिक्री पनि घटेको छ ।यसले पनि पहुँच विस्तार कात्तिकमा कम देखिएको हुन सक्ने प्राधिकरणले जनाएको छ ।
आर्थिक शिथिलताले नयाँ बीमा गर्ने व्यक्तिको सङ्ख्या घटेको छ । पुराना बीमितले पनि बीमालेख नवीकरण गर्न सकेको छैनन् । पोलिसी सरेन्डर गर्ने जस्ता प्रवृत्ति बढेको छ । त्यसले गर्दा बीमाको पहुँच घटेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
अहिले अधिकांश बीमा कम्पनीहरू मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज नभएका कम्पनीहरूको चुक्ता पुँजी पनि बढाउँदै छन् । त्यो अवस्थामा कम्पनीहरू व्यवसाय विस्तार गर्न सक्षम भएका छन् । यसै गरी अहिले लघुबीमा कम्पनीहरू पनि सञ्चालन आइसकेका छन् । उनीहरूले नयाँ बीमित नै थपी रहेका छन् । यसका अलावा प्राधिकरण र कम्पनीहरूले बीमा सचेतना कार्यक्रम गर्दै आएका छन् । यसरी बीमा पहुँच बढ्नका लागि प्रशस्त आधारहरू तयार छन् ।
तर, नजिता भने ठिक उल्टो अर्थात् बीमाको पहुँच घटेको हो । यसको मुख्य कारण आर्थिक शिथिलता नै भएको जानकारवालाहरु बताउँछन् । प्राधिकरणका एक अधिकारीले भने,‘आर्थिक शिथिलताका कारण यस्तो अवस्था आएको हुन सक्ने बताए । तर, यसबारे अध्ययन नै भई नसकेको उनको भनाइ छ । समयमा बीमा पोलिसी नवीकरण नहुने, पोलिसी सरेन्डर हुने, पोलिसी ल्याप्स हुने समस्याका कारण कात्तिकमा बीमा पहुँचमा सङ्कुचन देखिन्छ ।’
यद्यपि, एक महिनाको तथ्याङ्कलाई नै आधार मानेर पहुँच घटेको मान्न नहुने उनको भनाई छ । पछिल्लो समय बीमा प्राधिकरण, बीमा कम्पनीहरूले देशभर नै बीमा सचेतना कार्यक्रम गर्दै आएको छ । यसबाट पनि आम सर्वसाधारणलाई बीमा प्रतिको बुझाई र आवश्यकता थप बढ्दै गएको छ । यसले आगामी दिनमा बीमाको दायरा थप बढ्ने ती अधिकारीले बताए ।
आर्थिक सङ्कटकै कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महँगी बढ्दो छ । उपभोक्ताले बीमालेख खरिद गर्न, नवीकरण गर्नै कठिन छ । त्यसले गर्दा पनि पहुँच बढाउन नसकिएको बीमा कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।
बिशेषगरि समीक्षा अवधिमा म्यादी तथा लघु म्यादी जीवन बीमालेख नवीकरण नभएको देखिन्छ । गत वर्ष कात्तिक मसान्तसम्म ७४ लाख २२ हजार ८७१ जनाले म्यादी बीमा गरेका थिए । तर, यसपालि त्यो ६३ लाख ११ हजार ६९३ मा झरेको छ । यस्तो बीमालेखको सङ्ख्या झन्डै १५ प्रतिशतले घटेको छ । यसकै कारण बीमाको पहुँचमा गिरावट आएको हो । म्यादी बीमालेखको अवधि औसत १ वर्षकै हुन्छ । बिमितलाई यस्तो बीमालेख नवीकरण गर्न चर्को दबाब पनि हुँदैन । त्यसले गर्दा पनि यस्तो बीमालेखको नवीकरण पूर्ण रूपमा भएको छैन ।













