९ श्रावण २०८३, शनिबार

पूँजी बजार र बीमा सुधारका लागि गम्भीर गृहकार्य गर्दै छुः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजार र बिमा सुधारका लागि गम्भीर गृहकार्यमा रहेका बताएका छन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, ‘पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्यमा छु।’

यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको उनले बताए । उनले भने, ‘उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको छ । यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार व्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ। भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि हो ।’

‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढीकन आयात मात्र घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ। समस्याहरूलाई जनतासँग लुकाएर देश अघि बढ्दैन’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्