निर्जीवन बीमा बजार: एक महिनामा ३ अर्बको व्यापार, शीर्ष सूचीमा सलिको, सिद्धार्थ प्रिमियर र शिखर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै ३ अर्बको व्यापार गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले मङ्सिर महिनामा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीहरूले गत कात्तिकको तुलनामा व्यापार ७० करोड ५७ लाख रुपैयाँले बढाए छन् । गत कात्तिक महिनामा मात्रै कम्पनीहरूले २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । पाँच महिनामा भने कम्पनीहरूले कुल १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार कात्तिकको तुलनामा निर्जीवन बीमा व्यवसाय ३० प्रतिशतले बढेको हो । पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै कम्पनीहरूको व्यवसायमा पनि सुधार देखिएको हो । मङ्सिरमा कम्पनीहरूले २ लाख ७२ हजार ३८५ बीमालेख बिक्री गरेका छन् ।
व्यवसायमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नै अग्रता देखिएको छ । मङ्सिरमा पनि सलिकोले ३९ करोड ४३ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मङ्सिरमा कम्पनीले २६ हजार ४६० वटा बीमा शुल्क बिक्री गरेको हो । चालु आवको पाँच महिनामा भने कम्पनीले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पनि मङ्सिरमा ३१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय भित्राएको छ । मङ्सिरमा कम्पनीले २७ हजार ३१७ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । पाँच महिनामा भने कम्पनीले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मङ्सिरमा शिखर इन्स्योरेन्सले पनि ३० करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवको पाँच महिनामा १ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले मङ्सिरमा २६ हजार ८१८ वटा बीमालेख बिक्री गरेको छ ।
यस्तै, मङ्सिरमा आइजीआई प्रुडेन्सियलले २८ करोड ७४ लाख, नेकोले २७ करोड ३५ लाख, हिमालयन एभरेष्टले २६ करोड १७ लाख, सानिमा जिआईसीले २५ करोड १८ लाख, युनाइटेड अजोडले २० करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, एनएलजी इन्स्योरेन्सले १८ करोड १ लाख, ओरियण्टलले १३ करोड ७२ लाख, प्रभुले १३ करोड ५३ लाख, नेपाल इन्स्योरेन्सले १२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क मङ्सिर महिनामा मात्रै सङ्कलन गरेको छ । त्यसैगरि मङ्सिरमा नेशनल इन्स्योरेन्सले ८ करोड २ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।













