१६ श्रावण २०८३, शनिबार

अटाे व्यावसायीलाई अर्थमन्त्रीकाे काउन्टर, ‘विद्युतिय गाडीमा कर बढ्न सक्छ’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले करको विषयमा धेरै नबोल्न अटाे व्यवसायीहरूलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौँमा सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्युतीय गाडीको करको विषयमा उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा व्यवसायीले विद्युतीय सवारी साधनमा कर छुटको माग गरिरहेका  थिए । नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारीलाई साधनलाई उच्च प्राथमिकतामा राखेर कर नबढाउन आग्रह गरेका थिए । उनले भनेका थिए, आगामी वर्षको बजेटमा इभिको कर हेरफेर हुने हल्लाले व्यवसायीहरू हतोत्साहित भएका छन्, सरकारले व्यक्तिगत करमा स्थायित्व कायम गर्नुपर्छ, इभिलाई उच्च प्राथमिकता राखेर कर नबढाउन आग्रह गर्दछु ।’

तर, अर्थमन्त्रीले भने यो विषयमा धेरे नबोल्न व्यवसायीहरूलाई आग्रह गरे । करको विषयमा बोल्दा यसको पृष्ठभूमि बुझ्न जरुरी रहेको उनको भनाई थियो ।सो सन्दर्भमा उनले आगामी आवमा विद्युतीय गाडीको कर बढाउने  सङ्केत गरे ।

सरकारले दिएको कर छुटको लाभ नागरिकले पनि पाउनुपर्ने उनको भनाइ छ । तर, त्योअनुसार नागरिकले सहुलियत नपाएको देखिने उनले बताए । तसर्थ, यो विषयमा व्यवसायीहरू बोल्न आवश्यक नभएको उनले बताए । उनले भने, ‘सरकारले दिएको कर छुटको सुविधा तथा लाभ नागरिकले पनि पाउनुपर्छ । तर, त्यो सहुलियत उनीहरूले पाएको देखिँदैन । त्यसैले करको विषयमा व्यवसायीलाई नबोल्न आग्रह गर्छु ।’

कर थप घट भए पनि विद्युतीय गाडीको आयात बढ्ने उनको भनाइ छ ।  तसर्थ,  कर केही मात्रामा तल माथि हुँदा विरोध गर्न आवश्यक नरहेको पनि उनले बताए । 

अर्थमन्त्री डा. महतले विद्युतीय गाडी (इभी)ले  ग्रिन इनर्जीलाई  प्रोत्साहन गरेको बताए ।  इभी गाडीका कारण व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको उनको भनाइ छ । ग्रिन इनर्जीमा जाने उद्देश्य सहित नै  इभीमा कम कर लगाएको अर्थमन्त्री महतले बताए । तर, अब इभी सहित सवारी साधनमा लाग्दै आएको करबारे अध्ययन गर्न आवश्यक रहेको पनि उनको तर्क थियो ।