एक घण्टा मै हिमालयन रिइन्स्योरेन्सको १८ हजार कित्ता सेयर किनबेच, सेयर मूल्य कति ?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको पहिलो कारोबारको एक घण्टा मै १८ हजार कित्ता सेयर किनबेच भएको छ । यो समाचार तयार पर्दा (१२बजे) सम्म कम्पनीको १८ हजार ३५ कित्ता बराबरको ६० लाख ५० हजार २२१ रुपैयाँको कारोबार भएको हो ।
कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस समयमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ९० पैसाले बढेर ३४० रुपैयाँ १० पैसा पुगेको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको हो। कम्पनीको सेयर पुष २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।













