नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो १७ पेजको प्रतिवेदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त प्रतिवेदन बुझाएको हो ।
महासचिव विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।
यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् । कार्यदलले बुझाएको प्रतिवेदन १७ पेजको रहेको छ ।