साढे ७ अर्बले बढ्यो बैङ्कहरूको नाफा: नविल, ग्लोबल र एनआइएमबीले कमायाे धेरै, कृषि विकास पनि धनात्मक « Arthapath.com
११ असार २०८२, बुधबार

साढे ७ अर्बले बढ्यो बैङ्कहरूको नाफा: नविल, ग्लोबल र एनआइएमबीले कमायाे धेरै, कृषि विकास पनि धनात्मक



काठमाडौं । पाँच महिनामा बैङ्कहरूले करिब करिब साढे २८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर मसान्तसम्ममा सो बराबरको नाफा कमाएका हुन् । 

राष्ट्र बैङ्कका अनुसार मङ्सिरसम्म बैङ्कहरूले २८ अर्ब ३६ करोड ७८ लाख बढी खुद नाफा कमाएका छन् । जुन गत कात्तिकसम्मको तुलनामा ३६.८२ प्रतिशतले बढी हो । गत कात्तिकमा २० वटा वाणिज्य बैङ्कहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । एक महिना (मङ्सिरमा मात्र) मै बैङ्कहरूले ७ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैङ्कले कमाएको छ । पाँच महिनामा बैङ्कले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । गत कात्तिकको तुलनामा बैङ्कले ७९ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको छ । 

नाफाका आधारमा ग्लोबल आइएमई बैङ्क भने दोस्रो सूचीमा छ । बैङ्कले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ पाँच महिनामा कमाएको छ । मङ्सिरमा मात्रै बैङ्कले ७९ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको हो । 

तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) ले पनि २ अर्ब ६० करोड ९० लाख रुपैयाँ बराबरको नाफा गरेको छ । बैङ्कले पनि एक महिनामै थप ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

गत कात्तिकसम्ममा ऋणात्मक रहेको कृषि विकास बैङ्क पनि मङ्सिरमा नाफामा देखिएको छ । गत कात्तिकसम्म कृषि विकास २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा थियो । तर, मङ्सिरमा भने बैङ्कले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफाकै आधारमा एनआइसी एसियालाई प्राइम बैङ्कले उछिनेको छ । पाँच महिनामा प्राइम बैङ्कले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, एनआईसी एसियाले भने १ अर्ब  ८५ करोड १ लाख रुपैयाँ नाफा कमाएका छ । यता, हिमालयन बैङ्कले पनि १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  

समीक्षा अवधिमा प्रभु बैङ्कले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैङ्कले १ अर्ब ४५ करोड १३ लाख, एभेष्टले १ अर्ब ४० करोड ३२ लाख, सानिमाले १ अर्ब ७ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ४१ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २५ करोड ६० लाख, कुमारीले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ र नेपाल बैङ्कले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

यस्तै, पाँच महिनामा चार बैङ्कको नाफा भने १ अर्ब पनि पुगेको छैन । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैङ्कले ८९ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले ६२ करोड ३८ लाख, सिटिजनले ७४ करोड ३५ लाख, नेपाल एसबिआइले ७० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्