एनआइसी एशिया बैंकको नाफा र इपिएसमा भारी गिरावट, किन खस्किँदै छ बैंकको वित्तीय अवस्था ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

एनआइसी एशिया बैंकको नाफा र इपिएसमा भारी गिरावट, किन खस्किँदै छ बैंकको वित्तीय अवस्था ?



काठमाडौं। एनआइसी एशिया बैंकको वित्तीय अवस्था बिग्रदो देखिएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार बैंकका अधिकांश मुख्य सूचकहरु ओरालो लागेका छन् । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेर १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको सोही अवधिमा भने बैंकले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, यो वर्षको समिक्षा अवधिमा भने बैंकको नाफा २ अर्ब पनि पुग्न सकेको छैन।

विशेष गरि बैंकको खुद ब्याज आम्दानी, संचालन नाफामा आएको गिरावट र इम्पेरमेन्ट चार्ज वृद्धिका कारण नै खुद नाफा प्रभावित भएको देखिन्छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी दोहोरो अंक (१०.१३ प्रतिशत) ले घटेर ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचालन नाफा पनि २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख र कुल संचालन आम्दानी पनि ४.९६ प्रतिशत घटेर ७ अर्ब १२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

यता, बैंकको खराब कर्जा पनि बढ्दो क्रममा देखिएको छ । थत वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो कर्जा १ प्रतिशतभन्दा तल नै थियो । तर, यो वर्षको सोही अवधिमा भने बढेर १.१९ प्रतिशत पुगेको छ । वितरणयोग्य नाफा पनि ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ राखेको छ । तर, जगेडा तथा कोषको आकार गत वर्षको तुलनामा भने १२.०५ प्रतिशत घटेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । गत वर्षको दोस्रो त्रैमासमा ५६ रुपैयाँ ६१ पैसा रहेको बैंकको यस्तो आम्दानी यो वर्ष भने ३१ रुपैयाँ ९ पैसाले घटेर २५ रुपैयाँ ५२ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ पनि २४३ रुपैयाँ ९७ पैसाबाट घटेर २०५ रुपैयाँ १ पैसामा झरेको छ ।

तर, बैंकको निक्षेप संकलन भने २२.४५ प्रतिशत बढेर ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि १२.२४ प्रतिशत बढेर २ खर्ब ९३ करोड ८ ० लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्