ब्याज आम्दानी ३५ प्रतिशत बढ्दा पनि कसरी घट्यो कुमारी बैंकको नाफा ? यस्ता छन् मुख्य सूचकहरु

काठमाडौं । कुमारी बैंकले ६ महिनामा साढे ८६ करोड खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १४.३१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर, बैंकको खुद ब्याज र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तो चार्ज बढेपछि नै बैंकको खुद नाफा प्रभावित भएको हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३५ प्रतिशतले बढेको छ । सो अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । कुल संचालन आम्दानी पनि ४५.२७ प्रतिशत बढेर ७ अर्ब २५ करोड ४० लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड घ५ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड १८ लाख रुपैयाँ ऋणात्मक देखिएको हो । हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा तथा कोषमा पनि ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.८६ प्रतिशत र कर्जा लगानी १.६६ प्रतिशत बढेर क्रमश: ३ खर्ब १८ अर्ब ७६ करोड ५७ लाख र २ खर्ब ७५ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.८२ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३.१५ प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा आइपुग्दा भने बढेर ४.९७ प्रतिशत कायम भएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा छ ।