नाफामा नम्बर वान् नबिल: ग्लोबललाई प्राइमले उछिन्यो, एभरेष्ट र हिमालयनले मात्रै बढाउँदा अन्य बैङ्कको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा दोहोरो अंकको संकुचन देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ६ महिनामा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, बैंकहरुको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १०.२२ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरुले ३२ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
पछिल्लो समय बैङ्कहरूको खराब कर्जा बढ्दो छ । खराब कर्जा बढेपछि प्रोभिजनिङ रकम पनि बढ्दै गएको छ । त्यसको असर नाफामा देखिएको बैङ्कहरू बताउँछन् । आर्थिक गतिविधि चलायमान नहुँदा पनि बैङ्कहरूको व्यवसाय बढ्न सकेको छैन । सञ्चालनमा रहेकामध्ये तीन वटा बैङ्कहरूले मात्रै नाफा बढाउन सकेका छन् । समीक्षा अवधिमा हिमालयन, प्राइम र एभरेष्ट बैङ्कले मात्रै नाफा बढाएका हुन् । तर, अन्य १७ वटा बैङ्कहरूको नाफा भने घटेको छ ।
नाफामा नबिल बैङ्कले टप्यो, प्राइमलाई पच्छ्याउँदै ग्लोबल र राष्ट्रिय वाणिज्य बैङ्क
दोस्रो त्रैमासमा पनि नाफामा नबिल बैङ्कले टपेको छ । बैङ्कले सबैभन्दा धेरै ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत आवको दोस्रो त्रैमासको तुलनामा भने ६.२७ प्रतिशतले घटेको हो । नाफामा ग्लोबल आइएमई बैङ्कलाई प्राइम कमर्सियल बैङ्कले उछिनेको छ ।
प्राइम बैङ्कले पुस मसान्तसम्ममा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, ग्लोबल आइएमई बैङ्कको नाफा भने २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्रै छ । यता, राष्ट्रिय वाणिज्य बैङ्कले पनि २ अर्ब १ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यी बैङ्कहरूको नाफा गत वर्षको तुलनामा भने घटेको हो । यी बाहेकका बैङ्कहरूको नाफा २ अर्बभन्दा कम छ ।
नाफा वृद्धिदरमा हिमालयन, प्राइम र एभरेष्ट अगाडि, कृषि विकास पनि नाफामा उक्लियो
समीक्षा अवधिमा हिमालयन, प्राइम र एभरेष्ट बैङ्कले मात्र नाफा बढाउन सकेका छन् । नाफा वृद्धिदरमा हिमालयन बैङ्क अगाडि देखिएको छ । हिमालयनले ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, प्राइम बैङ्कले पनि ३२.१३ प्रतिशत नाफा बढाएर २ अर्ब १८ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ । यता, दोस्रो त्रैमासमा एभरेष्ट बैङ्कले अधिकांश सूचकहरू सकारात्मक प्रगति गरेको छ। बैङ्कको नाफा ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरि गत वर्षको दोस्रो त्रैमासमा नोक्सानीमा रहेको कृषि विकास बैङ्क पनि नाफा उक्लिएको छ । कृषि विकासले ६ महिनामा १ अर्ब३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको दोस्रो त्रैमासमा बैङ्क १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा थियो । विशेष गरी यी चार बैङ्कहरूको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नै नाफा वृद्धिमा टेवा पुगेको हो ।
कुनको बैंकको नाफा कति ?
