विकास बैंकको नाफाः गरिमा नम्बर १ मा पुग्दा ज्योतिको फड्को, कुन विकास बैङ्कले कति कमाए ?

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैङ्कहरूको खुद नाफा पनि दोहोरो अङ्कको गिरावट आएको छ । बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार चालु आवको ६ महिनामा बैङ्कहरूले २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १०.९८ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैङ्कहरूले २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका बैङ्कमध्ये दोस्रो त्रैमासमा ३ वटाले मात्रै नाफा वृद्धि गरेका छन् । अन्य पाँच वटाको नाफामा गिरावट आएको छ ।
नाफामा ज्योतिको छलाङ, गरिमाको सबैभन्दा धेरै
समीक्षा अवधिमा ज्योति विकास बैङ्कको खुद नाफा झन्डै तीन गुणाले बढेको छ । बैङ्कले नाफा १९०.८४ प्रतिशत बढाएर १० करोड १० लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । गत आवको दोस्रो त्रैमासमा बैङ्कले ३ करोड ४७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा भने गरिमा विकास बैङ्कले कमाएको छ । बैङ्कले ६ महिनामा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैङ्कको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २.०८ प्रतिशतले मात्रै बढी हो । गत आवको सोही अवधिमा पनि बैङ्कले ५० करोड २१ लाख बढी नाफा कमाएको थियो ।
यता, कामना सेवा विकास बैङ्कले ३२.१९ प्रतिशत नाफा वृद्धि गरेको छ । बैङ्कले गत आवको दोस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा भने २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
पाँच विकास बैङ्कको नाफा घट्यो
समीक्षा अवधिमा मुक्तिनाथसहित पाँच वटा विकास बैङ्कको नाफामा गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैङ्कको नाफा ३२.९३ प्रतिशत घटेर ४२ करोड रुपैयाँ कायम भएको छ । यद्यपि, रकमका आधारमा भने दोस्रो धेरै नाफा बैङ्कले कमाएको छ ।
यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको नाफा पनि १३.६१ प्रतिशत घटेर ३७ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा महालक्ष्मी विकास बैङ्कले २७ करोड ८० लाख, लुम्बिनी विकास बैङ्कले २१ करोड २२ लाख र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा यी बैङ्कहरूको नाफा क्रमशः १२.०३ प्रतिशत, १८.६९ प्रतिशत र ३९.८२ प्रतिशत घटेको हो ।