९ श्रावण २०८३, शनिबार

आइएमई लाइफको नाफामा उल्लेख्य सुधार: २३ करोड ४७ लाख कमायो, प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार भएको छ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेको आइएमई लाइफले आफ्नो खुद नाफा ९६.१४ प्रतिशत बढाएको हो ।

आइतबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालुु आवको दोस्रो त्रैमासमा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ करोड ५० लाख रुपैयाँ बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ११ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ, जसले खुद नाफा बढ्न टेवा पुगेको हो ।
समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा भने ८५.५३ प्रतिशत बढी हो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी पनि दोहोरो अंकले बढेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११.२० प्रतिशत बढेर १ अर्ब ९९ करोड ५७ लाख ६४ हजार रुपैयाँ पुगेको छ । तर, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । सो अवधिमा कम्पनीले सेयर प्रिमियममा भने १ अर्ब ५३ करोड बढी सञ्चित गरेको छ । यस्तै, कम्पनीले महाविपत्ती कोषमा १५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर ११ रुपैयाँ ७४ पैसा कायम गरेको छ । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्